विदुर– नुवाकोट जिल्लालाई आजदेखि खुला दिशामुक्त क्षेत्र जिल्ला घोषणा गरिएको छ।
जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिकालाई खुला दिशामुक्त क्षेत्र घोषणा गरेसँगै आज पूरै जिल्लालाई नै खुला दिशामुक्त जिल्ला घोषणा गरिएको हो। यससँगै खुला दिशामुक्त घोषणा हुने नुवाकोट मुलुकको ५८औँ बन्न पुगेको छ।
खुला दिशामुक्त जिलला घोषणा गर्नुअघि जिल्लामा रहेका स्थानीय तहमा शौचालयको अवस्थाबारे क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण टोलीबाट अनुगमन गरिएको थियो। आज सदरमुकाम विदुरमा आयोजित खुला दिशामुक्त घोषणा कार्यक्रममा प्रतिनिधिसभा सदस्य बहादुर सिंह लामाले नुवाकोट ५८औँ खुला दिशामुक्त जिल्ला भएकोमा खुसी व्यक्त गरे। उनले अब नुवाकोटलाई सरसफाइयुक्त जिल्ला बनाउन पनि सबै नागरिकलाई आग्रह गरे। सांसद लामाले नुवाकोटलाई खुल्ला दिशामुक्त घोषणा गरेपनि यसलाई कार्यान्वयन गर्न भने चुनौति रहेको धारणा राखे।
कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिशनरसिंह केसीले अहिले ०.५४ प्रतिशत घरधुरीमा अझै शौचालय नभएको जानकारी दिदै खुला ठाउमा दिशापिसाब गर्दा पर्नसक्ने नकारात्मक असरहरुबारे ग्रामीण भेगमा जनचेतना जगाउन आवश्यक रहेको बताए।
खानेपानी सरसफाई तथा स्वच्छता समन्वयन समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले जिल्लामा आवश्यक स्थलमा सार्वजनिक शौचालयको निर्माण नहुनु मूख्य चुनौति रहेको बताए।
यसैबीच प्रमुख अतिथि राख्ने विषयमा विवाद हुँदा विदुर नगरपालिकाका प्रमुख तथा उपप्रमुखसहित केही जनप्रतिनिधीहरुले कार्यक्रम बहिष्कार गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।