काठमाडौं– सरकारले अविरल वर्षासँगै आइपर्न सक्ने सम्पूर्ण विपत व्यवस्थापन तथा न्युनिकरणका लागि कुनै पनि कसर बाँकी नराखी काम गर्न मातहतका निकायलाई निर्देशन दिएको छ।
बिहीबार गृह मन्त्रालयमा बसेको विपत व्यवस्थापन र न्युनिकरणसँग सम्बन्ध राख्ने सरकारी निकायका पदाधिकारी सम्मिलित बैठकमा गृहमन्त्री राम बहादुर थापाले विपतको तत्काल सम्बोधन गर्नेगरि सम्पूर्ण रुपले तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्।
गृहमन्त्री थापाको अध्यक्षतामा बसेको बैठकले विपत जोखिम न्युनिकरणका लागि आवश्यक पहल गर्दै प्रभावितको तत्काल उद्धार, राहत तथा आवश्यक बन्दोबस्तीको व्यवस्था मिलाउनका लागि आवश्यक उपकरण र जनशक्तिलाई तयारी अवस्थामा राख्न मातहतका निकायलाई निर्देशन दिए।
बैठकमा सहभागी विपत जोखिम न्युनिकरण महाशाखाका सहसचिव केदार बहादुर न्यौपानेले राहत र उद्धारका लागि गाउँपालिका, नगरपालिका, प्रदेश सरकार लगायतसँग आवश्यक समन्वय गरि आवश्यक उपकरण र जनशक्तिलाई तयारीमा राख्ने निर्णय भएको जानकारी दिए।
न्यौपानेले भने,‘विपद व्यवस्थापनका लागि आवश्यक तयारी गरिएको छ। जस्तोसुकै विपतका लागि पनि आवश्यक उपकरण, जनशक्ति र स्रोतसाधन तयारी अवस्थामा राखिएको छ।’
मन्त्रालयले मौसम पूर्वानुमान सम्बन्धी आवश्यक जानकारी र पूर्व चेतावनीयुक्त सन्देश दिई सर्वसाधरणलाई सतर्क र सचेत बनाउने कार्यक्रम गर्ने तयारी पनि गरेको जानकारी दिए।
राहत सामाग्री वितरणमा भने एकद्धार प्रणाली अपनाउन मन्त्रालयले सबैलाई अपिल गरेको छ। मन्त्रालयले केन्द्रमा गृह मन्त्रालय, प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय र स्थानीय तहमा जिल्ला विपत व्यवस्थापन समितिका प्रमुख(प्रमुख जिल्ला अधिकारी)सँग समन्वय गरी राहत वितरणमा सहयोग पुर्याउन तथा अनावश्यक चन्दा संकलन गर्ने÷गराउने काम नगर्न तथा त्यसतर्फ सचेत हुन सर्वसाधरणलाई आग्रह गरेको छ।
केहीदिन यता मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षापछिको बाढी र पहिरोबाट मानवीय तथा भौतिक सम्पत्तिको क्षति हुनुको साथै जनजीवन प्रभावित भएको छ। गएरातीको वर्षाबाट भक्तपुरका अधिकांश स्थान डुबानमा पर्नुको साथै काभ्रे, बनेपालगायतको जनजीवन प्रभावित भएको छ। त्यसैगरी राजधानी बाहिरका पहाडी र तराईका जिल्ला पनि प्रभावित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।