काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले बाढी, पहिरो र डुबान पीडित कृषकहरुको उद्धार तथा राहत कार्यमा खटिन मातहतका निकायलाई निर्देशन दिएको छ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले बाढी, पहिरो र डुबानमा परेका कृषकहरुको क्षतिको विवरण संकलनका लागि पनि मातहतका निकायलाई सचेत गराए।
बिहीबार संक्षिप्त प्रतिक्रिया दिँदै उनले पीडित कृषकलाई राहत दिने कार्यमा मन्त्रालय तयारी अवस्था रहेको पनि प्रष्ट पारे। मन्त्री खनालले वर्षातको पीडामा रहेका कृषकहरुलाई राहत दिन आवश्यक बजेटको पनि व्यवस्था गरिएको जानकारी दिए।
मन्त्री खनालले असिनाबाट पीडित कृषकहरुको राहतका लागि करिब ९ अर्ब बराबरको बजेट अर्थ मन्त्रालयसँग माग गरिएको पनि जानकारी दिए। गत जेठमा असिनाका कारण चितवनमा केरा, बारामा मकै बाली नष्ट भएको थियो भने पोखरामा ठूलो परिमाणमा बुंगुर मरेका थिए। करोडौंको नोक्सान व्यहोरेका ती कृषकहरुलाई पनि राहत दिने मन्त्री खनालको योजना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।