काठमाडौं– सर्वोच्च अदालतमा रिक्त प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस वरिष्ठ न्यायाधीश दीपकराज जोशीको सुनुवाइ प्रक्रिया सुुरु भएको छ।
संसद सचिवालयमा बसेको सुनुवाई समितिको बैठकले कार्यविधी पारित गर्दै सूचना समेत जारी गरेको छ। बैठकले प्रधानन्यायाधीशको सुनुवाइ प्रक्रिया थालनी गर्ने निर्णय गर्दै सूचना जारी गरेको हो।
जेठ २९ गते संवैधानिक परिषद्को बैठकले जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। परिषद्ले सिफारिस गरेको करिब एक महिनामा सुनुवाइ प्रक्रिया सुरु भएको हो। हाल कायममुकायम रहेका प्रधानन्यायाधीश जोशीको बिहीबारबाट सुनुवाइ प्रक्रिया सुरु भएको समितिकी सदस्य पुष्पा भुसालले बताइन्।
सोमबारमात्र प्रतिनिधिसभाले संसदीय सुनुवाइ समितिमा बस्ने सदस्यहरुको टुङ्गो लगाएको थियो। सदस्यहरुको टुङ्गो लागेपछि बसेको बैठकले कार्यविधी निर्माणका लागि तीन सदस्यीय उपसमिति गठन गरेको थियो। उक्त उपसमितिले दिएको प्रतिवेदनलाई समितिले सुझावसहित पारित गरेको छ।
प्रधानन्यायाधीश पदका लागि चैत १३ गते न्याय परिषद्ले दिपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर जबराको नाम परिषद्मा पठाएकोमा जोशीको नाम सिफारिस भएको थियो। परिषद्को सिफारिसमा संसदीय सुनुवाइपछि राष्ट्रपतिबाट प्रधानन्याधीश नियुक्त हुने संवैधानिक व्यवस्था रहेको छ।
चैत १ गते तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिएपछि जोशी कायममुकाय प्रधानन्यायाधीशको रुपमा कार्यरत रहँदै आएका थिए।
उपसमितिले दिएको प्रतिवेदन अनुसार पारित कार्यविधिमा सुनुवाइका लागि सिफारिस गरिएकाहरुलाई समितिको दुई तिहाइ बहुमतले खारेज गर्नसक्ने व्यवस्था राखिएको छ। त्यसैगरी सुनुवाइ गर्ने क्रममा सिफारिसमा परेकाहरुले जनाएको प्रतिवद्धता अनुसार काम भए/नभएको सम्बन्धित निकायसँग सोधपुछ गर्ने व्यवस्था पनि कार्यविधिमा समावेश गरिएको छ।
कार्यविधिमा सिफारिसमा परेका व्यक्तिहरुको सुनुवाइलाई प्रभावकारी बनाउन सम्बन्धित क्षेत्रका विज्ञहरुलाई पनि सहभागी गराउने उल्लेख छ।
गत मंगलबार बसेको समितिको पहिलो बैठकले कार्यविधि तय गर्न योगेश भट्टराई, शिवकुमार मण्डल केवट र पुष्पा भुसाल रहेका ३ सदस्यीय उपसमिति गठन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।