काठमाडौं- विभिन्न ट्रेड युनियन महासंघले सरकारले हालै घोषणा गरेको श्रमिकको न्यूनतम पारिश्रमिक तत्काल सच्याउन माग गरेका छन्।
नेपाल ट्रेड युनियन महासंघ स्वतन्त्र, समाजवादी लोकतान्त्रिक ट्रेड युनियन महासंघ, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ, स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासंघ लगायतले बिहीबार एक विज्ञप्ती जारी गरी सरकारले तोकेको पारिश्रमिकले सामान्य जीवनयापन गर्न पनि कठिन हुने भएको भन्दै न्यूनतम पारिश्रमिक अझै बढाउन माग गरेका छन्।
श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले ट्रेड युनियनसँग भएको सहमति विपरीत पारिश्रमिक तोकेको भन्दै उक्त निर्णय तत्काल सच्याउन विज्ञप्तिमार्फत अपिल गरिएको छ। सरकारले आइतबार श्रमिकको तलब मासिक १३ हजार ४ सय ५० रुपँयौं निधारण गरेको थियो।
विज्ञप्तिमा न्यून तलबकै कारण स्वदेशमै काम गरिरहेका श्रमिक विदेशिनुपर्ने अवस्था सिर्जना हुने भएको भन्दै उनीहरुले न्यूनतम पारिश्रमिक २२ हजार पुर्याउन माग गरेका छन्। ट्रेड युनियनहरुले तोकिएको पारिश्रमिकको निर्णय नसच्याए आन्दोलन गर्ने चेतावनी दिएका छन्।
सरकारले तोकेको न्यूनतम पारिश्रमिकले श्रमिकलाई न्यूनतम खर्च चलाउन समेत नपुग्ने उनीहरुको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।