काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्धलाई अझै व्यापक बनाउनु पर्ने बताएका छन्।
चीन सरकारलाई नेपालको तर्फबाट एक जोडी गैंडा हस्तान्तरण गर्दै प्रधानमन्त्री ओलीले बिहीबार सो कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीले दुई देश बीचको परम्परागत सम्बन्धलाई गैंडा उपहारले थप मजबुद बनाएको बताए। भृकुटी र अरनिकोबाट सुरु भएको नेपाल–चीन सम्बन्धलाई ‘भद्र’ र ‘रुपसी’ गैंडा हस्तान्तरणले थप गाढा बनाएको प्रधानमन्त्री ओलीको भनाइ थियो।
प्रधानमन्त्री ओलीले नेपालका लागि चीनका राजदुत यु होङलाई प्रकृति संरक्षण कोष खुमलटारमा ‘भद्र’ र ‘रुपसी’ नामका गैंडाको जोडी हस्तान्तरण गरेका हुन्। हस्तान्तरणपछि प्रधानमन्त्री ओलीले भने, ‘भद्र र रुपसी चीनमा आफ्नै घरजस्तो गरी स्वस्थ ढंगले हुर्किनेछन्। सन्तान वृद्धि गर्नेछन्।’
वन्यजन्तुको संरक्षणका लागि सरकार संवेदनशील रहेको प्रधानमन्त्री ओलीले बताए। ‘वन्यजन्तु र प्रकृतिको संरक्षणका लागि हामीले पूर्वदेखि पश्चिमसम्मका विभिन्न ठाउँमा आरक्षण र संरक्षण क्षेत्र बनाएका छौं।’, प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले नेपाल वन्यजन्तु र चराचुरुंगीका लागि विशेष क्षेत्र भएको जिकिर गरे। साइवेरियादेखि श्रीलंकासम्मका चरा नेपालमा प्रजननका लागि आउनु त्यसैको एउटा नमुना भएको प्रधानमन्त्री ओलीले बताए।
दुई वर्षभन्दा कम उमेरका ‘भद्र’ र ‘रुपसी’लाई चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको हो।
चीन लैजाने तयारीमा रहेका गैंडा राखिएका ट्रक
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।