काठमाडौं– बुधबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ। मौद्रिक नीतिले सेयर बजारलाई उपेक्षा गरेको लागनीकर्ताले आरोप लागाइरहँदा साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचकमा १३ दशमलब ६६ अंकको गिरावट आएको छ।
पछिल्ला केही दिनदेखि निरन्तर ओरालो लागेको सेयर बजार बुधबार मौद्रिक नीतिले सकारात्मक सम्बोधन गर्ने हल्लाका कारण केही सम्हालिएको थियो। तर, मौद्रिक नीतिले सेयर बजारलाई उचित सम्बोधन नगरेसँगै बिहीबारको बजार नकारात्मक बन्न पुग्यो।
बिहीबार १ सय ६३ कम्पनीको ४५ कारोड ४४ लाख ६ हजार २ सय ५६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस दिन कारोबारमा आएको उत्पादन तथा प्रशोधन समूहबाहेक अन्य सबै समूहमा गिरावट आएको छ। यस समूहमा २ दशमलब ३ अंकको वृद्धि भएको छ।
बिहीबार सबैभन्दा धेरै बीमा समूहका लगानीकर्ताले गुमाएका छन्। यो समूहमा १०७ दशमलब ५८ अंकको गिरावट आएको छ। त्यस्तै, होटल समूह ३७ दशमलब ६५ अंकले घटेको छ भने लघुवित्त समूहमा ३६ दशमलव ०६ अंकको गिरावट आएको छ।
बिहीबार सबैभन्दा धेरै लक्ष्मी बैंकको सेयर कारोबार भएको छ। बैंकको ६ कारोड ५१ लाख ५४ हजार ३ सय ४० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कुमारी बैंकको संस्थापक सेयर ४ कारोड ३६ लाख ८० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
बिहीबार कञ्चन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। बैंकको सेयर मूल्य प्रतिकित्ता १६ रुपैयाँ अर्थात् ८ दशमलब ५१ प्रतिशतले बढेको छ। त्यस्तै, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता ४९ रुपैयाँ अर्थात् ६ दशमलब ८६ प्रतिशतले बढेको छ।
यता नागबेली लघुवित्त विकास बैंकका लगानीकर्ताले ८७ रुपैयाँ गुमाएका छन्। त्यस्तै, किसान माइक्रोफाइनान्सका लगानीकर्ताले ८६ रुपैयाँ गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।