काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँगको पारवहन र यातायातसम्बन्धी प्रोटोकल यही जुलाई महिनाभित्र तयार हुने स्पष्ट पारेका छन्।
प्रधानमन्त्री ओलीले चीनसँगको पारवहन र यातायातसम्बन्धी प्रोटोकललाई अन्तिम रुप दिन दुई मुलुकबीच पहिलो चरणको बैठक हालै सम्पन्न भएको पनि स्मरण गराए।
प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा सो प्रोटोकललाई जुलाई भित्र सम्पन्न गर्ने समझदारी भएको थियो। सोही समझदारी अनुसार कामलाई अघि बढाएको प्रधानमन्त्री ओलीको भनाइ छ।
बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको चीनसँग इतिहासभन्दा अघि देखिको सम्बन्ध रहेको पनि उल्लेख गरे।
प्रधानमन्त्री ओलीले सरकारले चीनसँग चौतर्फीरुपमा सम्बन्धलाई सुदृढ बनाउन चाहेको स्पष्ट पारे। उनले जल, वनस्पति, जीवजन्तुको आदानप्रदानले पनि दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन सहयोग पुग्ने स्मरण गराए।
प्रधानमन्त्री ओलीले दुई देशबीचको आपसी हितलाई अझै बलियो बनाउन उच्च स्तरीय भेटवार्तालाई जोड दिइएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।