काठमाडौं– नारायणगढ–मुग्लिन सडकखण्डको भौगर्भिक अध्ययन विनानै काम गरिएको प्रति सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का सांसद कृष्णभक्त पोखरेलले सरकारलाई ध्यानाकर्षण गराएका छन्।
करिब ४ वर्ष लगाएर निर्माण सम्पन्न हुनै लाग्दा पनि सडकमा पहिरो खस्ने क्रम नरोकिएको भन्दै सांसद पोखरेलले भौगर्भिक अध्ययन विना अर्बौँ रुपैयाँ खर्च गरेर सडक निर्माण गर्ने अवैज्ञानिक तरिका अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
चितवन क्षेत्र नम्बर २ का सांसदसमेत रहेका पोखरेलले निर्माण सकिनै लाग्दा पनि निर्वाध रुपमा यात्रुहरुले हिँड्न सक्ने अवस्था नरहेको जिकिर गरे।
शून्य समयमा बोल्दै उनले नारायणी नदीको पुल पुरानो भएकोले यसको छिट्टै विकल्प खोज्नसमेत सरकारको ध्यानाकर्षण गराए।
सांसद पोखरेलको सम्बोधनः
‘राजधानी आउनेजाने मूख्य राजमार्गको रुपमा रहेको नारायणगढ–मुग्लिन सडक खण्ड करिब ४ वर्ष लगाएर ३ वटा ठेकेदार कम्पनिले बल्लतल्ल सकिने अवस्थामा पुगेको छ। काम सम्पन्न नहुँदै ठाउँ–ठाउँमा बाटो भत्कने तथा पहिरो जाने कार्य भइरहेको छ। आजभोलि पनि निर्वाध रुपमा हिँड्न सक्ने अवस्था छैन। भौगर्भिक अध्ययन विना नै अर्बौँ रुपैयाँ लगानी गरी बाटो निर्माण गर्ने अवैज्ञानिक तरिका अन्त्य गर्न म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।
साथै पूर्वपश्चिम नेपाल जोड्ने नारायणी नदीको पुल ४० वर्ष पुरानो भयो। उक्त पुलको तत्काल विकल्प सोचिएन भने जुनसुकै बेला पूर्वपश्चिम यातायात अवरुद्ध हुनसक्ने अवस्था छ। म सम्माननीय सभामुखमार्फत नारायणी नदीको हालको विकल्पको रुपमा अर्को पुल निर्माण गर्ने दिशामा सरकारले काम बढाओस् भन्ने ध्यानाकर्षण गराउन चाहन्छु।’
नेपाल लाइभले स्थलगत रिपोर्टिङ गर्दै नारायणगढ– मुग्लिन सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नै त्रुटिपूर्ण रहेको समाचार प्रकाशित गरेको थियो।
याे पनि पढ्नुस्:
नारायणगढ-मुग्लिन सडककाे डिपिआर नै त्रुटिपूर्ण
नारायणगढ–मुग्लिन खण्डमा कमजोर सडक सुरक्षा
नारायणगढ-मुग्लिन सडक : रोड बनाउनेभन्दा बढी खर्च पहिरो व्यवस्थापनमा लाग्न सक्छ [अन्तर्वार्ता]
नारायणगढ–मुग्लिन सडकः किन जान्छ लगातार पहिरो? कसरी हुँदैछ नियन्त्रण?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।