काठमाडौं– सरकारले चीनलाई उपहार दिन लागेको दुर्लभ एक सिंगे गैंडाको जोडी बिहीबार हस्तान्तरण गरेको छ।
प्रधानमन्त्री केपी ओलीले चिनियाँ राजदुत यू होङलाई राष्ट्रिय प्रकृति संरक्षण कोषमा एक समारोह आयोजना गरी एक जोडी गैंडा ‘भद्र्र’ र ‘रुपसी’ हस्तान्तरण गरेका हुन्।
दुई वर्षअघि ओली नेतृत्वकै अघिल्लो सरकारले चीन सरकारलाई एक सिंगे दुई जोडी गैंडा चीन सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो। अहिले एक जोडी हस्तान्तरण गरिएको र अर्को एक जोडी गैंडा पनि छिटैै चीन सरकारलाई हस्तान्तरण गर्ने तयारी सरकारको छ।
सो अवसरमा प्रधानमन्त्री ओलीले गैंडा हस्तान्रण कार्यक्रमले पनि दुई देशबीचको मित्रतापूर्ण सम्बन्धमा अझै सुधार आउने विश्वास व्यक्त गरे। उनले दुवै गैंडालाई चीन सरकारले उचित हेरचाह गर्ने विश्वास पनि व्यक्त गरे।
गैंडाको रेखदेखबारे सरकारले चिनियाँ अधिकारीहरुलाई चितवन राष्ट्रिय निकुञ्जमै लगेर प्रशिक्षण दिएको थियो। बुधबार काठमाडौं ल्याइएको सो गैंडालाई चीनले विमानमा राखेर लैजानेछ। सरकारले स्वास्थ्य परीक्षणसहित चीन सरकारलाई गैंडा हस्तान्तरण गरेको हो।
नेपालले हालसम्म भारत, अमेरिका, जापान, थाइल्यान्ड, अष्ट्रिया लगायत मुलुकलाई २६ वटा गैंडा उपहार दिइसकेको छ। विश्वमै दुर्लभ मानिने एक सिंगे गैंडा नेपालमा मात्रै पाइन्छ।
नेपालमा हाल ६ सय ४५ वटा गैंडा छन्। तीमध्ये ६ सय ५ वटा गैंडा चितवन राष्ट्रिय निकुञ्जमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।