काठमाडौं- तत्कालीन युगोस्लाभियाबाट छुट्टिएर क्रोएसिया सन् १९९१ मा स्वतन्त्र राष्ट्र बनेको हो। सोही वर्षदेखि क्रोएसियाको फुटबल यात्रा सुरु भयो।
बोस्नियन द्वन्द्वका कारण युगोस्लाभियालाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले फुटबलमा प्रतिबन्ध लगाएको थियो। जसको असर स्वतन्त्र भएपछि पनि क्रोएसियाले खेप्नुपर्यो। स्वतन्त्र भएको तीन वर्षपछि अमेरिकामा विश्वकप फुटबल आयोजना हुँदै थियो। तर, क्रोएसियाले उक्त प्रतियोगिताको छनोट खेलमा मौका पाएन। यद्पयि स्वतन्त्र भएको १ वर्षमै उसले फिफाबाट मान्यता पाएको थियो।
स्वतन्त्र भएको पाँच वर्षपछि क्रोएसियाले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाएको थियो। सन् १९९६ को युरो कप खेल्दै क्रोएसियाले अन्तर्राष्ट्रिय फुटबल मञ्चमा पाइला राखेको थियो। जहाँ क्रोएसियाले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो।
१९९८ मा फ्रान्समा भएको विश्वकपमा पहिलो सहभागितामै सेमिफाइनलको यात्रा तय गर्दै क्रोएसियाले सनसनी मच्चायो। तर, सेमिफाइनलमा आयोजक फ्रान्ससँग पराजित भयो। तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियाले नेदरल्यान्ड्सलाई २–१ ले हराउँदै विश्व फुटबलमा आफ्नो बलियो उपस्थिति देखायो। विश्वकपमा तेस्रो स्थान हात पारेपछि क्रोएसिया फिफा वरीयतामा १ सय २५औं स्थानबाट तेस्रो स्थानमा आइपुगेको थियो।
स्वतन्त्र भएको ७ वर्षमै विश्व फुटबलमा पहिचान स्थापित गरेको क्रोएसियाले तत्कालीन युगोस्लाभियाले फुटबलमा गरेको लागनीबाट फाइदा उठाएको थियो। युगोस्लाभियाले सन् १९४८ र १९५६ को ओलम्पिक खेलकुदमा दोस्रो स्थान हात पारेर विश्व फुटबलमा सशक्त उपस्थिति देखाएको थियो। १९६० को ओलम्पिकमा भने युगोस्लाभियाले स्वर्ण नै जित्यो।
सन् १९८७ को यू–२० फिफा विश्वकपको उपाधि जित्दै युगोस्लाभियाले फुटबल विकासमा लगानी गरेको साबित गरेको थियो। सन् १९९० को विश्वकपमा युगोस्लाभिया क्वार्टरफाइनलसम्म पुगेको थियो।
१९९१ मा युगोस्लाभिया टुक्रिएपछि उसको फुटबलको हिस्सा क्रोएसियाले पनि लियो। सन् १९८७ को यू–२० विश्व च्याम्पियन बन्दाको पाँच खेलाडी क्रोएसियाको राष्ट्रिय टिममा रहे। यस्तै, १९९० को विश्वकप खेलेका ४ खेलाडी पनि क्रोएसियाको राष्ट्रिय खेलाडी बने। जसका कारण क्रोएसियन टिम सशक्त बनेको थियो।
१९९८ को विश्वकपमा क्रोएसियाको टिम
सन् १९९८ को विश्वकपमा उत्कृष्ट खेलेको क्रोएसियाले त्यसपछिका २ विश्वकपमा भने खराब प्रदर्शन गर्यो। २००२ र २००६ को विश्वकपमा क्रोएसिया समूह चरणबाटै बाहिरिएको थियो। सन् २०१० को विश्वकपमा त छनोट हुन नै सकेन। सन् २०१४ को विश्वकपमा पनि क्रोएसियाका लागि बिर्सनलायक रह्यो। आयोजक ब्राजिल रहेको समूहमा परेको क्रोएसिया समूह चरणबाटै बाहिरिएको थियो।
२०१८ को विश्वकप सुरु हुनुअघि पनि क्रोएसियाको अगाडि चुनौतीको पहाड थियो। समूहमा दक्षिण अमेरिकाको फुटबल शक्ति अर्जेन्टिना र अफ्रिकी महारथी नाइजेरिया थिए। अर्को नवप्रवेशी आइसल्यान्डले युरो कपमा राम्रो खेल्दै प्रभाव छाडेको थियो। 'ग्रुप अफ डेथ'मा परेको क्रोएसियाले राम्रो तयारी मात्र गरेन, खेलाडीलाई मनोवैज्ञानिक रुपमा दरिलो पनि पार्यो। प्रशिक्षक जेटलाट्को डालिकले टिमको मिडफिल्डमा रहेका स्टार खेलाडीबाट फाइदा उठाउने रणनीति बनाए। जसमा उनी सफल भए। समूह चरणमा प्रभावशाली खेल पस्कँदै क्रोएसियाले तीन खेलमै जित निकाल्यो।
क्रोएसियाले जारी विश्वकपको पहिलो खेलमा नाइजेरियालाई २–० गोलले पराजित गर्दै सानदार सुरुवात गर्यो। दोस्रो खेलमा अर्जेन्टिनामाथि ३–० को जित हात पारेपछि उसले प्रशंसा पाउन थालेको थियो। समूहमा उत्कृष्ट प्रदर्शनपछि क्रोएसियाले १९९८ मा जस्तै सनसनी मच्चाउने आकलन गर्न थालियो। अन्तिम खेलमा आइसल्यान्डलाई २–१ गोलले पराजित गर्दै क्रोएसियाले समूह विजेता बनेर नकआउट चरणमा स्थान पक्का गर्यो।
अन्तिम १६ मा डेनमार्क विरुद्ध क्रोएसियाले संघर्षपूर्ण जित हात पार्योम। निर्धारित र थप गरिएको समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि क्रोएसियाले पेनाल्टी सुटआउटमा जित हात पारेको थियो। सो खेलमा क्रोएसियाका गोलकिपर सुवासिकले ३ वटा पेनाल्टी रोकेका थिए।
क्वार्टरफाइनलमा पनि क्रोएसियाले पेनाल्टी सुटआउटकै सहारा लियो। निर्धारित र थप गरिएको खेल २–२ को बराबरीमा सकिएको खेलमा क्रोएसियाले रसियालाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै अन्तिम चारमा स्थान बनायो। यो खेलमा पनि गोलकिपर सुवासिकले १ पेनाल्टी रोकेका थिए।
सेमिफाइनलमा पुग्ने क्रममा क्रोएसियाले डिफेन्स र फरवार्ड लाइनमा निरन्तर सुधार ल्याएको थियो। मिडफिल्डरद्वय लुका मोड्रिक र इभान राकिटिक क्रोएसियनले टिमलाई निरन्तर ऊर्जा दिएका थिए। स्पेनिस क्लबद्वय रियल म्याड्रिड र बार्सिलोनाबाट खेल्ने दुईको तालमेल निकै मिलेको छ। दुवैले टिमका अन्य खेलाडीलाई ड्रेसिङ रुपमा समेत आत्मबल बढाउने काम गरिरहेका छन्। यी दुईलाई अन्य खेलाडीले पनि राम्रो साथ दिएका छन्।
इन्टर मिलानका मार्सेलो ब्रोजोभिक, रियल म्याड्रिडका मटेओ कोभाकिक, फ्लोरेन्टिनाका मिलान बडेल लगायतको संयोजनले क्रोएसियाको मिडफिल्ड उत्कृष्ट बनेको छ। यस्तै, मिडफिल्डर पेरिसिक र स्ट्राइकर मारियो मान्जुकिकले क्रोएसियालाई अघि बढाउन मिहिनेत गरे।
पेरिसिक र मान्जुकिककै योगदानबाट क्रोएसियाले बुधबार राति ऐतिहासिक सफलता हात पार्यो। बुधबार भएको दोस्रो सेमिफाइनलमा क्रोएसियाले इंग्ल्यान्डलाई २-१ गोलले पराजित गरेर विश्वकपमा पहिलो पटक फाइनलमा स्थान बनाएर इतिहास रच्यो।
निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएको थियो। ३० मिनेट थप गरिएको समयमा क्रोएसियाका लागि मारियो मान्जुकिकले १९ मिनेटमा गोल गरे।
खेलमा अग्रता भने इंग्ल्यान्डले लिएको थियो। केइरन ट्रिपियरले डि-बक्स नजिकै पाएको फ्रिकिकमा लोभलाग्दो गोल गरेपछि इंग्ल्यान्डले सुरुवाती अग्रता लिएको थियो। क्रोएसियाले ६८ मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। इभान पेरिसिकले इंग्ल्यान्डका डिफेन्डर केल वाल्करलाई बिट गरेर बराबरी गोल फर्काउन सफल भएका थिए।
विश्वकपको फाइनलमा पुग्ने क्रोएसिया जनसंख्याको आधारमा दोस्रो सानो देश बनेको छ। यसअघि १९३० मा उरुग्वेले १९ लाख जनसंख्या हुँदा फाइनलमा स्थान पक्का गरेको थियो। क्रोएसियाको जनसंख्या ४२ लाख छ।
क्रोएसिया विश्वकपको फाइनलमा पुग्ने अहिलेसम्मकै कम वरीयताको टिम हो। क्रोएसिया हाल फिफा वरीयतामा २०औं स्थानमा छ।
फाइनलमा पहिलो पटक स्थान बनाएसँगै क्रोएसिया विश्वकपको फाइनलमा पुग्ने १३औं देश बन्यो। युरोपबाट फाइनलमा पुग्ने क्रोएसिया १०औं टिम हो। फाइनलमा पुगेका ८ टिमले मात्र उपाधि जितेका छन्।
आइतबार फ्रान्सलाई हराउन सके क्रोएसिया विश्वकप जित्ने नवौं टिम बन्दै नयाँ च्याम्पियन बन्नेछ र विश्व फुटबलमा सुनौलो इतिहास कोर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।