काठमाडौं- चिकित्सा शिक्षा विधेयक जनमुखी ल्याउन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई नागरिकका तर्फबाट मार्सी चामल उपहार दिइने भएको छ।
प्रधानमन्त्री हुनुअघि केपी शर्मा ओली र पुष्पकमल दाहालले चिकित्सा शिक्षा विधेयकमा स्वार्थ गाँसिएका एक व्यापारीको घरमा मार्सी चामलको भात खाएको सन्दर्भलाई जोड्दै पब्लिक डिफेन्स अलायन्सको अगुवाइमा चामल उपहार दिन लागिएको हो।
चिकित्सा शिक्षा सुधारका लागि असार १६ गतेदेखि अनसनरत डा गोविन्द केसीसँगका विगतका सहमति कार्यान्वयन गर्न स्मरण गराउँदै अलायन्सले बालुवाटारमा आज दिउँसो २ बजे सडक सन्देश मार्फत चामल उपहार दिने कार्यक्रम रहेको जनाएको छ।
व्यापारीको निवासमा भोज खाएर दुवै नेताले त्यसको गुण तिर्न चिकित्सा शिक्षाबारे माथेमा आयोगको प्रतिवेदनका जनमुखी प्रावधानलाई हटाउन लागेको आरोप लगाउँदै अलायन्सले सजग समेत तुल्याएको छ।
अलायन्सका अनुसार, व्यापारिक स्वार्थ जोडिएका व्यापारीको घरमा गएर खाइने मार्सी चामलको खानाले जनमुखी नीति लागू गरी समाजवादी व्यवस्थातर्फ डोर्याडउँदैन भन्ने लागेर सडक सन्देश दिन लागिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।