बुटवल- नवलपरासीको सुनवलमा आज बिहान ना ६ ख ९४३८ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने १८ यात्रु घाइते भएका छन्।
नारायणघाटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस आज बिहान ७ बजे नवलपरासीको सुनवल नगरपालिका १२ बिनयटोलमा अनियन्त्रित भई पल्टिँदा गुल्मीको मालिका गाउँपालिका १ का ३७ वर्षीय गणेश लम्सालको मृत्यु भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।
गम्भीर घाइते भएका लम्सालको परासीस्थित अस्पतालमा उपचारका क्रममा बिहान साढे ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका थप एक जनाको अवस्था गम्भीर छ।
प्रहरीका अनुसार, घाइते एक जनाको बुटवलको जेनस हस्पिटलमा, ९ जनाको मेडिकल कलेजमा र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
यस्तै, आज बिहान बुटवलबाट पोखरा जाँदै गरेको लु १ ख ७२७२ नम्बरको बस पाल्पाको भालेवासमा दुर्घटना हुँदा चालकसहित २६ यात्रु घाइते भएका छन्।
बिहान पौने ७ बजे विपरीत दिशाबाट आउँदै गरेको लु १ ख ८१२७ नम्बरको बससँग ठोक्किएर सो बस सडकबाट १५ मिटर तल खोल्सामा खसेको थियो। घाइतेहरुको प्रवास मेडिकल कलेज र मिसन अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।