पर्वत- अविरल वर्षासँगै सडक माथिबाट खसेको पहिरोका कारण गए रातिदेखि पोखरा–बाग्लुङ सडकखण्ड अवरुद्ध भएको छ।
सडकखण्ड अन्तर्गत पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोला नजिकै माथिबाट लेदो झरेका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए। गए राति करिब १० बजेदेखि नै पहिरो खस्न सुरु गरेकाले पोखराबाट पर्वत हुँदै मुस्ताङ, म्याग्दी र बाग्लुङ जाने तथा पर्वत हुँदै पोखरा तथा अन्य लामो तथा छोटो दूरीका सयौं सवारी साधन रातिदेखि नै बीचैमा अलपत्र परेका छन्।
बाटो खुलाउन रातिदेखि नै डोजर प्रयोग गरिए पनि हिलो र लेदो खस्ने क्रम नरोकिएका कारण अहिलेसम्म पनि बाटो अवरुद्ध नै छ। बाटो खुलाउन डिमुवाबाट रातिदेखि नै प्रहरी खटिए पनि सडक पुनः सञ्चालन हुन सकेको छैन।
वर्षा सुरु भएसँगै भ्याप्ले खोलामा पहिरो खस्ने गरेका कारण पोखरा–बाग्लुङ सडकखण्ड पटक-पटक अवरुद्ध हुँदै आएको छ। दिउँसोसम्ममा सडक पुनः सञ्चालन हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।