काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका सडकका खाल्डाखुल्डी जतिसक्दो चाँडो पुर्न निर्देशन दिएका छन्।
चावहिल–बौद्ध–जोरपार्टी, कलंकी–थानकोट लगायत सडकको अवस्था र सार्वजनिक यातायात क्षेत्रको केही समय अघिसम्म कायम रहेको सिन्डिकेटको पूर्णरुपमा अन्त्य गर्ने विषयमा प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री, सचिव लगायतलाई बोलाएर ती समस्या तत्काल समाधान गर्न बुधबार निर्देशन दिएको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रधानमन्त्री ओलीले देशभरका सबै सडक, ढल तथा अन्य पूर्वाधार निर्माण गर्दा आधुनिक, प्रविधिमैत्री र गुणस्तरीय बनाउन समेत निर्देशन दिएका छन्। प्रधानमन्त्रीले सार्वजनिक यातायातलाई भरपर्दो, सेवाग्राहीमैत्री एवं प्रविधिमैत्री बनाउँदै ज्येष्ठ नागरिक, महिला, अपांगता भएका व्यक्ति लगायतलाई प्रदान गरिने आरक्षण सिट सुविधाको उपभोगलाई सहज बनाउन समेत निर्देशन दिएका छन्। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।