काठमाडौं- क्रोएसियाले विश्वकप फुटबल ऐतिहासिक सफलता हात पारेको छ। २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान पक्का गर्दै क्रोसियाले इतिहास रचेको हो।
बुधबार भएको दोस्रो सेमिफाइनलमा क्रोएसियाले इंग्ल्यान्डलाई २-१ गोलले पराजित गरेर विश्वकपमा पहिलोपटक फाइनलमा स्थान बनाएको हो। अब उपाधिका लागि क्रोएसियाले आइतबार फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।
क्रोएसिया यसअघि १९९८ को विश्वकपको सेमिफाइनलमा पुगेको थियो। तर फ्रान्ससँग पराजित हुँदा फाइनल पुग्ने अवसर गुमाएको थियो।
क्रोएसियाले खेलमा पछि परेको अवस्था उल्टाएर रोमाञ्चक जित हात पारेको हो।
निर्धारित ९० मिनेटको समयमा १-१ को बराबरीमा सकिएको थियो। ३० मिनेट थप समयमा क्रोएसियाका लागि मारियो मान्जुकिकले १९ मिनेटमा गोल गरे। उनले इभान पारिसिकले डिबक्स भित्र हेडमार्फत मिलाएको पासमा उत्कृष्ट फिनिसिङ गरेका थिए।
थप समयमा दुवै टिमले गोल गर्ने अवसर गुमाएका थिए। इंग्ल्यान्डका जोन स्टोन्सले सिक्स यार्ड बक्सबाट हानेको हेडरलाई क्रोएसियाका ह्यारी म्यागियुरले गोललाईबाट हेडमार्फत नै बचाएका थिए। यस्तै क्रोएसियाका मारियो मान्जुकिक पनि सफल हुन सफल हुन सकेनन्। क्रस बलमा मान्जुकिकको प्रहारलाई इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्ड जोगाएर टिमको संकट टारे।
खेलमा अग्रता भने इंग्ल्यान्डले लियो। केइरन ट्रिपियरले डिबक्स नजिक पाएको फ्रिकिकमा लोभलाग्दो गोल गरेपछि इंग्ल्यान्डले सुरुवाती अग्रता लिएको थियो। ट्रिपियरको प्रहारलाई रोक्न क्रोएसियाका गोलकिपर डानिजेल सुबासिकले कुनै मौका नै पाएनन्। ट्रिपियरको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो।
पहिलो हाफमा इंग्ल्यान्डले अग्रता दोब्बर पार्ने मौका गुमाएको थियो। कप्तान ह्यारी केनले वान भर्सेस वानको अवस्थामा गरेको प्रहारलाई क्रोएसियाका गोलकिपरले विफल पारे।
क्रोएसियाले ६८ मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। इभान पेरिसिकले इंग्ल्यान्डका डिफेन्डर केल वाल्करलाई बिट गरेर बराबरी गोल फर्काउन सफल भए। पेरिसिकलाई गोल गर्न सिमे भर्साक्कोले क्रस उपलब्ध गराएका थिए। पेरिसिसको जारी विश्वकपमा दोस्रो गोल हो। उनले गत संस्करणमा पनि २ गोल गरेका थिए। लगत्तै क्रोएसियाले अग्रता लिने अवसर गुमाएको थियो। पेरिसिकले डिबक्स भित्रबाट हानेको प्रहार दोस्रो गोलमा लागेर फर्किएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।