जनकपुरधाम– प्रहरी ऐन खारेजीको माग गर्दै दलित अधिकार परिषद्ले प्रदेश २ को संसद भवन घेराउ गरेको छ।
दलित, मुस्लिमलगायत पिछडिएका वर्गको समावेशी ढंगले प्रहरी ऐनमा प्रतिनिधित्व नगराइएको भन्दै परिषद्ले आज संसद भवन घेराउ गरेको हो। राष्ट्रियसभा सदस्य रामपृत पासवानको नेतृत्वमा पुगेका दलित अगुवाहरुले प्रहरी ऐन खारेज गर्न माग गरेका थिए।
राष्ट्रियसभा सदस्य पासवानले प्रदेश २ मा दलितको जनसंख्या १७ दशमलब २९ प्रतिशत भएपनि ७ प्रतिशतमात्रै प्रतिनिधित्व हुने गरी प्रदेश सरकारले प्रहरी ऐन ल्याएकोले आफूहरुले दबावस्वरुप संसद भवन घेराउ गरेको बताए। आफूहरुको माँग सम्बोधन नगरिए अझै सशक्त आन्दोलन गर्ने पासवानले चेतावनी समेत दिए।
संसद भवन घेराउ गर्न पुगेका दलित अगुवाहरुसँग कुरा गर्दै आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले दलित तथा मुस्लिमहरुको मागप्रति प्रदेश सरकार गम्भीर रहेको बताउँदै माग सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
सरकारले ल्याएको प्रहरी ऐन अहिले छलफलका लागि संसदको समितिमा पठाइएको र त्यसमा रहेका त्रुटीहरु सुधार गर्दै अगाडि बढ्ने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।