काठमाडौं– रोजगारीका नाममा श्रमिकको श्रम शोषण गर्ने युगको समाप्त भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताएका छन्। आज राजधानीमा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको राष्ट्रिय भेलालाई संम्बोधन गदै मन्त्री विष्टले अहिलेको सरकार श्रमजिवी कामदार र जनहितका लागि काम गर्ने स्पष्ट पारे।
वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सिप पहिचान गरेर सरकारले आन्तरिक रोजगार बजारमा व्यवस्थापन गर्दै लैजाने भन्दै मन्त्री विष्टले भने, ‘आन्तरिक श्रम बजार सुधार्न दिनरात नभनि काम गरिरहेको छु। आर्थिक समृद्धिका लागि आन्तरिक श्रम बजार व्यवस्थापन गर्नैपर्ने हुन्छ। जसका लागि विभिन्न क्षेत्रमा काम गर्ने श्रमिक र रोजगारदाताको महत्वपुर्ण भूमिका रहन्छ। उनीहरुको योगदान विना आर्थिक समृद्धि सम्भव छैन।’ बाध्यकारी रोजगारीको अवस्थालाई जसरी भएपनि ५ वर्षभित्र अन्त्य गर्ने उनको भनाइ छ।
यस्तै, युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले युवाविना विकासको कल्पना गर्न नसकिने बताए। युवा पलायन रोक्न सरकारले विशेष योजना ल्याउनै पर्ने उनको भनाइ थियो।
वैदेशिक रोजगारीका कारण नेपालका जग्गा बाँझो हुने क्रम बढ्दै गएको र यो अवस्थालाई जसरी भएपनि रोकेर सरकारले कृषि क्षेत्रमा युवाको उपस्थीति बढाउनुपर्नेमा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले जोड दिए।
काठमाडौंमा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको दोस्रो राष्ट्रिय भेला चलिरहेको छ। भेलाको आयोजना राष्ट्रिय युवा परिषद्ले गरेको हो। भेलामा वैदेशिक रोजगारीबाट फर्किएका ५५ जिल्लाका करिब ८ सय जना सहभागि रहेको परिषद्ले जनाएको छ। भेलामा वैदेशिक रोजगारीबाट फर्किएका कामदारको अवस्था, समाजमा उनीहरुको भूमिका, फर्किएका श्रमिकलाई राज्यले गर्ने व्यवस्थापनका विषयमा छलफल हुने जनाइएको छ।
वैदेशिक रोजगारीबाट फर्किएका कामदारले देशको अर्थतन्त्रमा पुर्याएको योगदान र उनीहरुलाई कसरी उद्यमी तथा उत्पादन क्षेत्रका सहभागि गराउने विषयमा छलफल गरिने परिषद्ले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।