काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ आज मन्त्रालयको टोलीसहित कलंकीस्थित मालपोत कार्यालयमा अनुगमन गर्न पुगे। मन्त्री एक्कासी अनुगमनमा पुगे पनि कार्यालयका कर्मचारी भने आफ्नो काममा तल्लिन देखिन्थे।
तर, कार्यालयभित्र रहेका विचौलिया भने आफ्नो स्थानबाट एकाएक चलमलाउन थालेको स्पष्टै देख्न सकिन्थ्यो। मन्त्री खनाल बिना जानकारी कार्यालयमा प्रवेश गरेको देखेर कामका लागि आएका सेवाग्राहीले केही विशेष कायक्रम पो रहेछ कि भन्दै एकअर्कामा कुराकानी गरेको सुनियो।
मालपोत कार्यालयहरुमा सेवाग्राहीले सास्ती भोग्नुपरेको, बिना कमिसन काम गर्न असहज र सामान्य कामका लागि पनि सेवाग्राहीले कर्मचारीलाई घुस दिनुपर्ने लगायतका गुनासो बढेपछि बुधबार मन्त्री खनाल स्थलगत अनुगमनका लागि कलंकीस्थित मालपोत कार्यालय पुगेका हुन्। तर, मन्त्री गुनासो आएजस्तो नराम्रो अवस्था र विृकति नभेटेपछि २० मिनेट कार्यालय घुमेर फर्किए।
मन्त्री मालपोत कार्यालय पुग्दा त्यहाँ कुनै समस्या नै छैन जस्तो गरी काम भइरहेको देख्न सकिन्थ्यो। कार्यालयमा आफ्नै ढंगले काम गरिरहेका कर्मचारी, कार्यालयभित्रको गतिवधि र अवस्था देख्दा यस्तो लाग्थ्यो, मन्त्री आउने सूचना उनीहरुलाई यसअघि नै थियो।
अनुगमनका क्रममा भूमि व्यवस्थामन्त्री खनालले कार्यालयभित्रका चार कोठा घुमे र अन्तिममा कार्यालय प्रमुख कक्षमा पसेर काम गर्ने र सेवाग्राहीले गर्दै आएका गुनासोका विषयमा जिज्ञासा राखे।
मालपोत कार्यालयका प्रमुख नीवनकिशोर आधिकारीले अनुगमनमा पुगेका मन्त्री खनाललाई कर्मचारीले सेवाग्राहीको मागअनुसार नै काम गरिरहेको र मन्त्रालयले कर्मचारीलाई काम गर्न आवश्यक पर्ने उपकारण तत्काल व्यवस्था गर्नुपर्ने माग राखे।
मन्त्री खनालले कार्यालयका प्रमुख अधिकारीलाई तपाईंहरुको कामको शैलीप्रति जनताले प्रश्न उठाउने गरेका छन् नि? भनेर गरेको प्रश्नमा कार्यालय प्रमुख अधिकारीले भने,‘मालपोत कार्यालय नेपाल सरकारकै एक अर्धन्यायिक संस्था हो। कार्यालयले सरकारी कानुन र ऐनमा बसेर काम र सेवा दिइरहको छ।’
भूमि व्यवस्थामन्त्री खनालले तपाईंहरुमाथि घुसबिना काम नगर्ने आरोप छ नि? भन्दै अर्को प्रश्न सोधेपछि कार्यालय प्रमुख अधिकारीले यो विषयमा आफैं अनविज्ञ भएको जवाफ दिए। मन्त्रीको प्रश्नमा अधिकारीले घुमाउरो पारामा प्रमाणबिना आरोप लगाउन नमिल्ने र कार्यालयमा भएका पछिल्ला एक महिनाको सबै विवरण एक सातामा मन्त्रालयमा बुझाउने जवाफ दिए।
सो क्रममा खनालले मालपोत कार्यालयमा हुने गरेको विकृति रोक्नका लागि मन्त्रालयले विशेष कार्यक्रम सञ्चालन गर्ने भन्दै सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न आफू गम्भीर भएर लागि परेको बताए।
उनले कार्यालयमा उपस्थित भएका सेवाग्राहीसँग पनि कामको अवस्थाबारे बुझेका थिए। मन्त्री खनालसँग सेवाग्राहीले भने मालपोतमा सहज ढंगले काम नहुने गरेको भन्दै दलालदेखि कर्मचारीसम्मबाट हैरानी खेप्नुपरेको गुनासो गरेका थिए। यस्तो प्रथाको जसरी भए पनि नियन्त्रण गर्न सेवाग्राहीले अनुगमनमा गएका मन्त्रीलाई आग्रह गरेका थिए।
देशभरका मालपोत कार्यालयहरुमा मौलाउँदै गएको विकृति रोक्नुपर्ने चुनौति मन्त्रालयमा थपिएको भन्दै मन्त्री खनालले स्थलगत अनुगमनमा टोली नै लिएर हिँडिरहेका छन्।
यसका अलावा कृषि क्षेत्रमा व्याप्त विकृति र बेथितिको अन्त्य गर्ने भन्दै उनले बजार अनुगमनलाई समेत तीव्रता दिइरहेका छन्। तर, मन्त्री आँफै सहभागी भएको स्थलगत अनुगमनबाट खासै उपलब्धि र परिमाणमुखी नतिजा भने आउन सकेको देखिँदैन।
मन्त्रीकै नेतृत्वमा गरिएको अनुगमनबाट न त जनतालाई आवश्यक पर्ने दैनिक उपभोग्य खाद्यान्नको बजार भाउमा परिवर्तन देखिएको छ। न त महँगी नियन्त्रण हुन सकेको छ। यो क्षेत्रमा एकाधिकार जमाएर बसेका विचौलिया हटाउन पनि मन्त्री सफल भएको जस्तो अनुभूति मिलेको छैन।
मन्त्री खनालले गरेको पछिल्लो स्थलगत अनुगमनलाई मन्त्रालयको बजारमा परिणामबिनाको उपस्थिति मान्न सकिन्छ। मन्त्रीकै नेतृत्वमा गरिएको अनुगमनबाट दैनिक जीवनमा आवश्यक कृषिजन्य सामाग्रीको बजार भाउमा नियन्त्रण हुन सकेको छैन। हिजोआज जनताका लागि भन्दै गरिने यस्ता अनुगमन मन्त्रीको सस्तो प्रचारबाजीको शैली मात्र बन्ने गरेको पाइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।