पोखरा– पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ९ को कार्यालय छेउमै रहेको सडक बिग्रिएको लामो समय भइसक्यो। कार्यालयले असारसम्ममा सडक निर्माण कार्य सम्पन्न हुन्छ भनेर दावी गरेता पनि असार मसान्त आउन केही दिन मात्रै बाँकी रहँदा निर्माण कार्य सुरु भएको नामोनिसान भेटिँदैन।
सडक छेउमै विद्यालय छ। पानी परेको होस् या घाम लागेको समय, विद्यालय आउने विद्यार्थीलाई समस्या हुन्छ। पानी पर्दा हिलो त पानी नपर्दा धुलो खेप्नु विद्यार्थी तथा सो खण्ड भएर हिँड्ने पैदलयात्रीका लागि दैनिकीजस्तै बनेको छ। वर्षात् लागेसँगै दिनहुँ पर्ने पानीले सडक जलमग्न तथा हिलाम्य हुँदा हिँड्डुल गर्न पनि सास्ती खेप्नुपरेको उनीहरुको गुनासो छ।
बाटो छेउमा पसल गर्दै आएकी लक्ष्मी रेग्मीलाई छिट्टै सडकको अवस्थामा सुधार आए हुन्थ्यो भन्ने लाग्छ। उनी भन्छिन्, ‘पानी पर्दा हिलो हुन्छ, नपर्दा धुलो हुन्छ। तीन/चार वर्ष भयो कहिलेकाँही माटो ल्याएर पुरेजस्तो गर्छन्। तर, पानी पर्ने बित्तिकै फेरि त्यस्तै हुन्छ।’ सडकको अवस्था लामो समयदेखि उस्तै रहनुले जनप्रतिनिधि आएको अनुभुत गर्न नपाएको उनले गुनासो गरिन्।
तर कार्यालयसँगै जोडिएको सडक निर्माणतर्फ वडा कार्यालयको भने ध्यान पुग्न सकेको छैन। वडासचिव लोकदर्शन कोइरालाले सबै पक्रिया पूरा भइसकेर पनि जनसहभगिता नपुगेकाले काम रोकिएको दावी गर्छन्।
पृथ्वी राजमार्गअन्तर्गत पोखरास्थित पृथ्वी चोकबाट आवतजावत गर्दा बाटो जाम हुने गर्दछ। त्यही जामलाई छल्न साना सवारी तथा पैदल यात्रुहरु वैकल्पिक बाटोका रुपमा तुल्सीघाट हुँदै नयाँबजार निस्कने बाटो समाउँछन्। तर तुल्सीघाटको पुल कटिसकेपछि भने उनीहरु बाटोको अवस्था देखेर झनै निराश हुन्छन्।
वडासचिव कोइरालाले भने महानगरले तोकेको जनसहभागिता नहुँदा काममा ढिलाइ भएको बताउँछन्। ‘इस्टिमेटदेखि सबै कागजपत्र महानगरपालिकामा पेशसमेत भइसक्यो। पहिले १५ प्रतिशत जनसहभागिता गराउने कुरा थियो तर नपुगेपछि काम रोकिएको हो।,’ सचिव कोइराला भन्छन्, ‘माथि संग्रहालय छ तल स्कुल, अनि जनसहभागिता पुग्ने कुरै भएन।’
नवप्रभात माध्यामिक विद्यालय, नयाँबजार अगाडिको यो सडकलाई थुप्रैपटक ग्राबेल हालेर मर्मत गर्दै आइएको छ। तर, त्यसले स्थायी समाधान भने दिन सकेको छैन। केही समयअघि सचिव कोइरालाले नेपाल लाइभसँगको कुराकानीमा असारमै काम सक्ने बताएका थिए। तर अहिलेसम्म त्यसको कुनै छाँटकाँट देखिदैन। ‘फाइल उपभोक्ता समिति सदस्य राममाया मानन्धरलाई बुझाइसकेको छु।,’ उनले भने, ‘हामी पनि निरन्तर पछयाइरहेका छौं, जनसहभागिता नपुग्ने भएपछि मेयर सा’बले टेन्डरमा लैजाने भन्नुभएको छ।’
वडाले बाटो मर्मत गर्न ४२ लाख रुपैयाँ बजेट आवश्यक पर्ने अनुमान गरेको छ। वडा सदस्य तथा उपभोक्ता समिति सदस्यसमेत रहेकी राममाया मानन्धर महानगरले पहिले २० प्रतिशत जनसहभागिता आवश्यक रहेको बताए पनि जुटाउन नसकिएको स्वीकार गरिन्। उनले भनिन्, ‘जेठको अन्तिममा आएर बल्ल २० प्रतिशत जनसहभागिताको तोक लगाइदिनु भयो। पछि स्कुल र संग्रहालय छ भनेपछि १५ प्रतिशतमा आयो तर त्यो पनि धेरै भयो। हामीले ५ प्रतिशतमात्रै जनसहभागिता खोजेका थियौं।’
सडक मर्मत हुन ढिलाइ हुनुको अर्को कारण ढल निकास भएको सदस्य मानन्धरको बुझाइ छ। ‘त्यहाँ जम्मा हुने पानी कसरी निकास गर्ने भन्ने बारेमा निरिक्षण नै भइरहेको छैन,’ उनी भन्छिन्, ‘यो बाटो टेन्डर नै निकालेर गर्ने भए तत्काल हुनसक्ने अवस्था नै छैन, साउनपछि मात्रै हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।