राजविराज– गाउँभरि ऋण उठाएर छिमेकी महिला बेपत्ता भएपछि सप्तरीको खडक नगरपालिका–१०, इनरुवा फुलबरियाका महिलाहरु यतिबेला समस्यामा छन्। फरार महिलालाई पक्राउ गरी कारबाही गर्न र पैसा असुल गरिदिन आग्रह गर्दै प्रहरी/प्रशासन धाउनु उनीहरुको दैनिकी बनेको छ।
पति विदेश गएपछि छोराको पढाइ र घर खर्च अभाव भएको भन्दै स्थानीय हेमनारायण चौधरीकी पत्नी रामपरी देवीले गाउँका महिलाहरुसँग घरलौरी ऋण उठाएर बेपत्ता भएको पीडितहरुको गुनासो छ।
छोरा इन्द्रनारायणको पढाइका लागि भन्दै रामपरीले रकम संकलन गरेको उनीहरुको भनाइ छ। रामपरीका दुई छोरामध्ये इन्द्रनारायण भारतको बेङ्लौर र ध्रुव राजविराजमा अध्ययनरत छन्।
बेपत्ता रामपरी विरुद्ध गाउँका करिब ४० जना महिलाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दर्ता गराएका छन्। उजुरीमा रामपरीले आफ्नो व्यावहारिक कठिनाइ देखाएर गाउँका हरेक महिलासँग ६ हजारदेखि ६ लाख २९ सम्म ऋण उठाई करिब ६० लाख रकम ठगेर बेपत्ता भएको उल्लेख छ।
व्यावहारिक समस्या बुझेर सहयोग गर्दा आफूहरु अप्ठ्यारोमा परेको महिलाहरुले गुनासो गरे।
‘छोराको पढाइ नै रोकिने भो भन्दै बिलौना गरेपछि पतिले विदेशबाट पठाएको सबै १ लाख २५ हजार रुपैयाँ निकालेर दिएँ’, पीडितमध्येकी प्रमिला चौधरीले भनिन्, ‘अब श्रीमानले पैसा खै भन्दा मैले कसरी देखाउने?’ उनका पति भगवतीप्रसाद चौधरी वैदेशिक रोजगारीका क्रममा कतारमा छन्।
स्थानीय देवकी चौधरीले रामपरीले आफूसँग पटक–पटक गरी २ लाख नगद र ५ आना सुन लिएको दाबी गरिन्। मलेसियामा रहेका पति नारायण चौधरीले पठाएको पैसा आफूले रामपरीलाई ऋण दिएको उनको भनाइ छ।
रामपरीले स्थानीय स्तरमा रहेका स्वावलम्बन विकास बैंक, महुली सामुदायिक विकास केन्द्र, स्वेडेक, निर्धन उत्थान बैंक, ग्लोबल बहुमुखी सहकारी लगायत आधा दर्जनभन्दा बढी वित्तीय संघसंस्था मार्फत पनि दर्जनौं महिलाको लाखौं रुपैयाँ ठगेको रामकुमारी विश्वकर्माले बताइन्। रामपरीकै प्रयासमा गाउँका महिलाहरुहरुले समूह–समूह बनाई सहकारी र बैंकमा बचत खाता सञ्चालन गर्दै आएका थिए। पछिल्लो समय उनले तिनै समूह प्रयोग गरी अधिकांश सहकारी/बैंक मार्फत ऋण लिएको महिलाहरुले बताएका छन्। छरछिमेकीले थाहा पाए इज्जत जान्छ भन्दै कसैलाई नभन्न भनेकाले लामो समयसम्म रामपरीको ठगी धन्दा गुपचुप रहेको उनीहरु बताउँछन्।
‘बैंकले किस्ताका लागि पत्र पठाउन थालेपछि मात्रै आफू ठगिएको पत्ता पायौं’, स्थानीय वासुदेव ठाकुरले भने, ‘घरमा खाने अन्न छैन, अर्काले लिएको ऋणको किस्ता कसरी बुझाउने?’ व्यक्तिगत रकम डुबेको भन्दा पनि बैंकको किस्ता कसरी चुक्ता होला भन्ने पिरलोले गाउँभरिका मानिसको भोकतिर्खा हराएको उनले बताए।
पूर्व गाविस अध्यक्ष शत्रुघन आजादले गाउँ नै डुबाएर बेपत्ता भएकी रामपरी र उनका पतिलाई तत्काल उपस्थित गराई ठगिएकाहरुलाई न्याय दिलाउन निमित्त सिडिओ नरबहादुर खड्का र एसपी मुकेशकुमार सिंहलाई आग्रह गरिएको बताए।
इलाका प्रहरी कार्यालय कल्याणपुरका सई भगवानी ठाकुरले पीडितहरुको उजुरी दर्ता भएको जानकारी दिँदै बेपत्ता महिला र उनका पतिको खोजी भइरहेको बताए।
पीडित व्यक्तिहरु र ठगिएको रकम:
विनिताकुमारी साह ४ लाख ६० हजार
प्रमिला चौधरी ३ लाख ५० हजार
कौशिला चौधरी ४० हजार
प्रमिलादेवी रसाइली ५८ हजार
समिन्द्रा चौधरी २३ हजार
रामकुमारी चौधरी १ लाख ३० हजार
सीतादेवी विक २ लाख ७५ हजार
उदयप्रसाद चौधरी ५ लाख
उर्मिलादेवी साह ७० हजार
सरस्वती ठाकुर १ लाख ५० हजार
देवकी साह ६ लाख २९ हजार
पार्वती चौधरी ३ लाख
देवकी चौधरी २ लाख नगद र ५ आना सुन
हरिहरदेवी चौधरी १ लाख २२ हजार
विणदेवी ठाकुर १ लाख
रिनाकुमारी साह २ लाख
प्रमिला चौधरी १ लाख २५ हजार
किसनी चौधरी २ लाख
सुरेखा चौधरी ६५ हजार
रामप्रसाद साह ३ लाख
रामकुमारी विक २ लाख ५० हजार
देवकी चौधरी ५० हजार
वासुदेव ठाकुर १ लाख ५० हजार
लुडकी चौधरी १ लाख ७१ हजार
सुगावती चौधरी ३ लाख
नथरी चौधरी ६ हजार
जितनी चौधरी ४० हजार
रामकुमारी साह ४ लाख
मनोज साह २८ हजार
वर्तनदेवी चौधरी १ लाख ५० हजार
जम्मा: ५८ लाख ४२ हजार नगद र ५ आना सुन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।