चितवन- भरतपुर महानगरपालिकाले दुग्ध उत्पादक किसानले प्रत्यक्षरुपमा पाउने गरी अनुदान दिन सुरु गरेको छ।
महानगरले दुग्ध उत्पादक सहकारी संस्था, दुग्ध संकलन केन्द्र र निजी डेरीमार्फत किसानलाई प्रतिलिटर २५ पैसाका दरले अनुदान दिन सुरु गरेको हो। महानगरको पशु सेवा शाखाका प्रमुख डा विकास श्रेष्ठका अनुसार, यस वर्षको गत साउन महिनाबाट पुस १५ गतेसम्म दूध बिक्री गरेका किसानलाई अनुदान दिइएको हो।
श्रेष्ठका अनुसार बजेट कम भएका कारण वर्षभरि दिन नसकिएको हो। कार्यालयले आह्वान गर्दा ५२ वटा सहकारी संस्था, दुग्ध संकलन केन्द्र र निजी डेरीले निवेदन दर्ता गराएपछि उनीहरूले संकलन गरेको दूधको आधारमा उनीहरूकै खातामा रकम जम्मा गरिएको हो।
कार्यालयले १६ लाख ७० हजार रुपैयाँ संस्थाको खातामा पठाएको छ।
आउँदो वर्ष एक करोड ५० लाख लिटर दूध संकलन हुने अनुमान गरिएको छ। सो वापत अनुदान दिन ३५ लाख रुपैयाँ कार्यक्रममा राखिएको उनले बताए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।