काठमाडौं– २०१८ विश्वकप सुरु हुनुअघि बेल्जियमलाई उपाधिको दाबेदार मानिएको थियो। हुन पनि विश्व वरीयतामा तेस्रो स्थानमा रहेको बेल्जियमको वर्तमान फुटबल टिमलाई स्वर्णिम पुस्ता मानिँदै यस्तो अपेक्षा गरिएको थियो। युरोपियन लिगमा उत्कृष्ट प्रदर्शन गरेका प्रतिभाशाली खेलाडीहरु टिममा थिए।
चेल्सीका गोलकिपर थिबाउट कोउटिइसदेखि म्यानचेस्टर युनाइटेडका फरवार्ड रोमेलु लुकाकु टिममा हुँदा बेल्जियम उच्च मनोबलमा थियो। चेल्सीका इडिन हजार्ड र म्यानचेस्टर सिटीका केभिन डे ब्रुइन जस्ता विश्वका उच्चस्तरीय मिडफिल्डर भएकोले बेल्जियमले उपाधि जित्ने लक्ष्य राख्नु स्वाभाविक थियो।
विश्वकपको सुरुवातमा बेल्जियमले सानदार खेल पस्कियो। समूह चरणका तीनै खेल जित्दै समूह विजेता बन्ने क्रममा बेल्जिमयले ९ गोल गर्यो। अन्तिम १६ मा पनि बेल्जियमले रोमाञ्चक खेल पस्किएर सबैको मन जित्यो। जापान विरुद्ध २ गोलले पछि परेको अवस्थामा पनि उसले ३ गोल फर्काएर सनसनी मच्चायो।
ब्राजिल विरुद्धको अन्तिम ८ स्थानको खेल बेल्जियमका लागि कठिन मानिएको थियो। तर, बेल्जियमले पाँच पटकको विजेता ब्राजिललाई २–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो।
आफ्नो क्षमता प्रमाणित गरेको बेल्जियम सेमिफाइनलमा भने चुक्यो। पहिलो पटक मुख्य उपाधि जित्ने बेल्जियमको अभियानमा फ्रान्स बाधक बन्यो। फ्रान्ससँग १–० ले पराजित भएपछि विश्वकपमा पहिलो पटक फाइनल पुग्ने बेल्जियमको सपना पूरा हुन सकेन।
यसअघि दुई पटक सेमिफाइनल पुग्दा पनि बेल्जियम चुकेको थियो। पछिल्लो पटक सन् १९८६ को सेमिफाइनलमा बेल्जियमलाई अर्जेन्टिनाले पराजित गरेको थियो।
फ्रान्ससँग पराजित भएसँगै बेल्जियमको २४ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ। बेल्जियमले सेप्टेम्बर २०१६ पछि खेलेका कुनै पनि खेलमा हार बेहोरेको थिएन। यता रोबार्टो मार्निनेजले बेल्जियमको प्रशिक्षक बनेपछि पहिलो पटक पराजय भोगेका छन्।
मंगलबार फ्रान्स विरुद्धको खेलमा बेल्जियमका पहिलो रोजाइमा मैदान उत्रिएका ११ मध्ये १० खेलाडी प्रिमियर लिगका थिए। जसमा म्यानचेस्टर युनाइटेडका स्ट्राइकर रोमेलु लुकाकुबाट बेल्जियमले धेरै आसा गरेको थियो। ब्राजिल विरुद्ध लुकाकुले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले तीव्र गतिमा कुदाएर उपलब्ध गराएको बलमा डे ब्रुइनले दोस्रो गोल गरेका थिए।
सुरुवाती २ खेलमा ४ गोल गरेका लुकाकु फ्रान्स विरुद्धको खेलमा भने चल्न सकेनन्। उनलाई फ्रान्सका डिफेन्डर राफायल भारान र स्यामुयल उम्टिटीले कडा निगरानीमा राखेका थिए। जसले गर्दा लुकाकुले खेलमा केवल २२ पटक बल छुन पाए। जुन दुवैतर्फका खेलाडीमध्ये सबैभन्दा कम हो। फ्रेन्च डिफेन्डरले उनलाई पास लिन समेत अप्ठ्यारो पारेका थिए।
म्यानचेस्टर सिटीका प्लेमेकर तथा 'किङ अफ एसिस्ट'को संज्ञा पाएका डे ब्रुइनले पनि कुनै राम्रो मुभ बनाउन सकेनन्। कप्तान हजार्डले भने सुरुवातमा उत्कृष्ट खेलेका थिए। उनले सुरुवातमा हानेको प्रहार डिफ्लेक्ट भएर पोस्टमाथिबाट बाहिरिएको थियो। यो बाहेक उनले खेलमा राम्रो मुभ निकाल्न सकेनन्।
खेलपछि बेल्जियमका प्रशिक्षक मार्टिनेजले कर्नर बलमा गोल खाएर महत्त्वपूर्ण खेल गुमाउँदा दु:ख लागेको बताए।
'यो एकदमै कसिलो खेल थियो। यस्तो अवसर सधैं प्राप्त हुँदैन। एक डेड बल (कर्नर) रोक्न नसक्दा पराजित हुनुपर्यो', उनले भने, 'फ्रान्स जितको हकदार छ। ऊ अग्रता जोगाउन सफल भयो। तर, हामीले गोलका लागि कुनै जादू देखाउन सकेनौं। तर पनि मेरा खेलाडीप्रति गर्व छ। उनीहरुले सम्पूर्ण शक्ति खर्च गरेर खेले।'
सेमिफाइनलमा पराजित भए पनि बेल्जियमको लागि विश्वकप अझै सकिएको छैन। शनिबार राति तेस्रो स्थानका लागि हुने खेलमा सान्त्वना जित हात पार्ने अवसर बाँकी छ। तेस्रो स्थानको खेलमा बेल्जियमले इंग्ल्यान्ड र क्रोएसियाबीच बुधबार हुने खेलको पारजित हुने टिमसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।