उदयपुर- सगरमाथा राजमार्ग अन्तर्गत सप्तरीको कदमाहा हुँदै उदयपुरको गाईघाट जोड्ने सडकको त्रियुगा नगरपालिका–३ मोतिगडामा पर्ने सार्वजनिक जग्गा बिक्री गर्ने र खरिदकर्तासहित ६ जनालाई मंगलबार पुर्पक्षको लागि प्रहरीले जेल चलान गरेको छ।
मंगलबार जिल्ला अदालत उदयपुरको आदेश अनुसार त्रिनपा–३ मोतिगडाका जग्गा बिक्रेता शिवप्रसाद दाहाल र बुद्धिप्रसाद दाहाललाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
यस्तै, ललितपुर महानगरपालिका–३ खोकनाका जग्गा खरिदकर्ता नेपाल डंगोल, नापी शाखा कार्यालय उदयपुरका प्रमुख शिवचन्द्र ठाकुर, त्रिनपा–३ की वडा सदस्य हरिमाया शाही र लेखनदास हरि ढुंगानालाई अदालतको आदेश अनुसार पुर्पक्षको लागि कारागार चलान गरिएको उदयपुरका प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए।
प्रहरीका अनुसार गत जेठ १६ गते त्रियुगा नगरपालिका–३ मोतिगडामा पर्ने सडकको सात कट्ठा १९ धुर जग्गा स्थानीय शिवप्रसाद र बुद्धिप्रसाद दाहालले एक करोड तीन लाख रुपैयाँमा ललितपुर खोकनाको नेपाल डंगोललाई बिक्री गरेका थिए।
सडकको जग्गा बिक्री गर्ने तथा किन्ने, सिफारिस गर्ने वडा सदस्य र कृत्रिम नक्सा बनाउने नापीशाखाका प्रमुख र लेखनदास सबैलाई अदालतको आदेश अनुसार पुर्पक्षको लागि जेल चलान गरिएको प्रहरीले जनाएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।