भीमदत्तनगर- कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको सडकसँगै बन्ने पुल निर्माणका लागि जग्गाको मुआब्जा वितरण सुरु गरिएको छ।
पक्की पुलसँगै बन्ने सडक विस्तारका लागि जग्गा अधिग्रहण गरी मुआब्जा वितरण नहुँदा निर्माण रोकिएको थियो।
मुआब्जाका लागि सबै प्रक्रिया पूरा गरेर गत शुक्रबारदेखि रकम वितरण समेत सुरु भइसकेको महाकाली पुल आयोजना कार्यालय भीमदत्तनगरका प्रमुख प्रदीप भण्डारीले बताए।
उनका अनुसार हालसम्म महाकाली नगरपालिका–१ (महाकाली नदीपारि) र भीमदत्त नगरपालिका–१२ ओदालीका गरी १७ जनाले मुआब्जा रकम लिइसकेका छन्। मुआब्जास्वरुप दुई करोड ७८ लाख स्थानीयले लिइसकेका छन्।
पुलसँगै नदी वारिपारि गरी करिब ७.६ किलोमिटर सडक चार लेनको बन्नेछ। महाकाली पुल योजना कार्यालयले चालू आर्थिक वर्षको मसान्तसम्म मुआब्जा वितरण गरिने जनाएको छ।
पुल निर्माणको पहिलो वर्ष भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक अर्ब रुपैयाँ विनियोजन गरेको थियो। जसमा १० करोड रुपैयाँ मुआब्जाका लागि छुट्याइए पनि पुल योजना कार्यालयले पुल निर्माणमा खर्च हुन नसकेको रकम समेत मुआब्जा वितरणमा व्यवस्थापन गरेको छ।
तीन अर्ब २७ करोड ९३ लाख ३४ हजार रुपैयाँमा सो निर्माणको सम्झौता भएको छ। निर्माण अवधि तीन वर्ष तोकिएको छ। यहाँस्थित भीमदत्तनगरपालिका–१२ ओदालीमा गत भदौमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पुलको शिलान्यास गरेका थिए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।