ad

फुटबल क्रेजले फिफा मुख्यालय पुगेका थिए यी नेपाली डाक्टर

Nepal Live

काठमाडौं– एक हप्ताअघि डा सन्तोष उपाध्यायले आफ्नो फेसबुकमा केही तस्बिर पोष्ट गरे। ती तस्बिरमा उनको फुटबल प्रेम प्रष्टै झल्किन्थ्यो। तस्बिरको लोकेसन स्वीट्जरल्यान्डको जुरिच थियो। जहाँ फिफाको मुख्यालय छ।

स्वीट्जरल्यान्ड पुगेको समय फिफाको मुख्य कार्यालय पुगेर फुटबलसँग बान्की–बान्कीका तस्बिर खिचाउने अवसर उनले गुमाएनन्। किनभने उनलाई फुटबल औधी मनपर्छ। 

त्यहाँ उनले धेरै देशका फुटबल हेरे। फुटबल सम्बन्धि जानकारी लिए। फुटबल क्लब र मैदानका विषयमा बुझे। ‘आफूले निरन्तर खेलिरहेको फुटबल नजिकबाट नियालेको महशुस भयो,’ आत्मसन्तुष्टिको भावमा उनले भने।

अछाममा जन्मेका कैलालीमा हुर्केका डा उपाध्यायले महाराजगंज मेडिकल कलेजबाट भर्खरै एमबिबिएस पूरा गरेका हुन्। यतिबेला फुर्सदिला छन्। त्यसैले फुटबलको महाकुम्भ विश्वकपको भरपूर आनन्द लिएर हेरिरहेका छन्। 

पढाइमा तेज उनको रुची खेलकुदमा पनि लगाब थियो।  फुटबलचाँही उनका लागि सबैभन्दा  बेस्ट। उनले टेलिभिजनमा फुटबल हेर्न सन् १९९८ देखि थालेका हुन्। त्यही बेलादेखि विश्वकपको महत्व बुझे उनले।

उनले फुटबल खेलाडीमध्ये सानोमा सबैभन्दा धेरै ‘पेले’का बारेमा  पढे। उनलाई ‘पेले’ जीवनी र फुटबलप्रतिको लगाव निकै चाख लाग्थ्यो। उनलाई सम्झना छ, ‘फुटबलका जादुगर पेले’ नामको एउटा लेख अझै।  पछि उनले म्याराडोना, ब्रजिल र फ्रान्सका सबै खेलाडीका बारेमा खोजी–खोजी पढ्न थाले।  

कैलाली टिकापुरको खड्ग मेमोरियल इङ्लिस  बोडिङ पढ्दा  स्कुलको प्रतिनिधित्व गर्दै  थुप्रै प्रतियोगिता खेल्ने मौका पाए उनले। फुटबल राम्रो खेल्ने भएकाले स्कुलले उनलाई टोलीमा समावेश गथ्र्यो।  उनी सम्झिन्छन्, ‘कहिलकाहिँ त परीक्षाको समयमा समेत हामी फुटबल प्रतियोगिताको तयारीमा हुन्थ्यौं। अरुबेला खेल्दा खाशै केही नभन्ने बुवाआमा त्यो बेला भने रिसाउनुहुन्थ्यो।’ तर, उनले पढाइलाई कहिल्यै कम महत्व भने दिएनन्। खेल्दा पनि मिलाएर पढ्ने भएकाले अब्बल विद्यार्थी नै रहे सधैं। 

लगनखेलस्थित मुनलाइट हाएर सेकेन्डरी स्कुलबाट प्लस टू गरे। त्यहाँ रहँदा पनि इन्टर कलेजमा फुटबल प्रतियोगितमा भाग लिएर उपाधि समेत हासिल गरेका छन्। 

महाराजञ्ज मेडिकल कलेजमा एबिबिएस गर्दा  पनि उनले फुटबल खेल्न छुटाएनन्। उनी भन्छन्, ‘थुप्रै खेल खेलियो। धेरै जितियो। सबैभन्दा ठूलो कुरा यहाँ पढ्दा फुटबलका बारेमा पनि धेरै कुरा सिक्ने मौका पाएँ।’ 

फुटबल खेल्न जत्तिकै उनलाई हेर्न पनि रमाइलो लाग्छ।  उनले कुनै पनि ठूला फुटबल प्रतियोगिता हेर्न छुटाएका छैनन्।  ‘सवै खेल उत्तिकै चाख लिएर हेर्छु,’ उनले भने, ‘कुनै पनि प्रतियोगिता हेर्न छुटेपनि अपडेट भने भइरहन्छु।’

विश्वकपका हरेक खेल उनले नछुटाइ हेरिरहेका छन्। उनी कुनै एक व्यक्ति वा टिमको भन्दा पनि राम्रो खेल्ने धेरै खेलाडी र टिमका प्रशंसक हुन्। उनले कुनै पनि हालतमा हेर्न नछुटाउने चाहिँ अर्जेन्टिना र पोर्चुगलका खेल हुन्। 

‘फुटबल भनेको भरपूर मनोरञ्जन लिने खेल हो। त्यसैले जुन टिमले जितेपनि कुनै फरक पर्दैन। गेम हेर्दा यो मेरो यो तेरो भन्ने हँुदैन तर राम्रो खेल्ने टिमले जितोस् भन्ने चाहना सबैको हुन्छ। मेरो पनि रहन्छ,’ उनी भन्छन्। 

फुटबल  खेल्दा उनी घाइते समेत भएका छन्। एकपल्ट फुटबल खेल्ने क्रममा हात भाँचिएर तीन महिनासम्म हात चलाउन नमिल्ने भएको थियो। तर, त्यो घटनाले उनलाई फुटबलप्रति विकर्षित गरेन। अहिले पनि उत्तिकै चाख लिएर फुटबल खेल्न कुदिरहेका हुन्छन् उनी।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार