काठमाडौं– थियरी हेरनी फ्रान्सका सर्वाधिक लोकप्रिय फुटबल खेलाडी मध्ये पर्छन्। फ्रान्सका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलको रेकर्ड हेनरीको नाममा छ। उनले राष्ट्रिय टिमबाट सन् १९९७ देखि २०१० सम्म १ सय २३ खेल खेल्दै ५१ गोल गरेका थिए। फ्रान्सले १९९८ मा विश्वकप र २००० मा युरो कप जित्दा हेनरी टिमका महत्वपूर्ण सदस्य थिए। त्यही कारण फ्रान्सका लाखौं बालबालिकाले उनलाई प्रेरणा मानेर फुटबल सिकिरहेका छन्।
फ्रान्सका उनै महान् फुटबलर हेनरी मंगलबार पहिलोपटक फ्रान्सको हारको कामना गर्दैछन्। २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत फ्रान्स र बेल्जियम बीचको खेलमा हेनरीले बेल्जियमलाई जित दिलाउने रणनीति बनाउँदैछन्। सारा फ्रान्सेलीले आफ्नो टिमको जर्सी लगाएर समर्थन गरिरहदा हेनरी भने बेल्जियमको जर्सीमा हुनेछन्।
हेनरी पछिल्लो २ वर्षदेखि बेल्जियम फुटबल टिमको सहायक प्रशिक्षक छन्। बेल्जियमलाई जारी विश्वकपमा सेमिफाइनलसम्म ल्याउन उनले प्रशिक्षक रोबर्टो मार्टिनेजलाई महत्वपूर्ण सहयोग गरिरहेका छन्। अझ सेमिफाइनलको खेल फ्रान्स विरुद्ध रहेकाले बेल्जियमले हेनरीबाट उत्कृष्ट रणनीतिको आसा गरेको छ। किनकी हेनरी फ्रेन्च टिमबारे बढी जानकार छन्।
'साँच्चै यो अजीवको दृष्य हो। उनी फ्रेन्च हुन्। तर हाम्रो विपक्षी बेन्चमा हुनेछन्,' फ्रान्सका प्रशिक्षक डिडियर डेस्चाम्सले भने, 'उनको लागि पनि यो पक्कै असजिलो क्षण हुनेछ।'
डेस्चाम्स र हेनरीको बीचको ९ वर्ष उमेरको अन्तर छ। दुवैले फ्रेन्च टिमबाट २१ खेल सँगै खेलेका थिए। डेस्चाम्स र हेनरी सँगै खेल्दै फ्रान्सले कुनै खेल पनि हारेन। २१ मध्ये फ्रान्सले १६ जित र ५ बराबरी खेल्यो। डेस्चाम्सको कप्तानीमा खेलेका हेनरीले १९९८ को विश्वकप र युरो २००० उपाधि उचाल्ने मौका पाए।
हेनरीले युभेन्ट्सबाट व्यावसायिक खेल सुरु गरेका थिए। सन् १९९९ मा इंग्लिस क्लब आर्सनलमा आबद्ध भएपछि उनको उचाइ बढ्यो। उनले आर्सनलका लागि १९९९ देखि २००७ सम्म २ सय ५४ खेल खेल्दै १ सय ७४ गोल गरेका थिए। हेनरीलाई नजिकबाट चिन्ने व्यक्तिमा आर्सनलका पूर्व प्रशिक्षक आर्सेन वेन्जर पर्छन्। वेन्जरले मंगलबार फ्रान्स र बेल्जियम बीचको खेल हेनरीका लागि अवसर भएको बताए।
'हेनरीका लगि यो अवसर हो। व्यावसायिक काम गर्दा उनले दबाब लिनु हुँदैन,' वेन्जरले भने, 'फ्रान्सलाई हराउनका लागि उनले बेल्जियमको प्रशिक्षण सम्हालेका होइनन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।