काठमाडौं– धरहरा पुनर्निर्माणको प्रक्रियामा फेरि अवरोध उत्पन्न भएको छ। पुनर्निर्माणका लागि टेन्डर खोल्ने अन्तिम मितिमा अनियमितताको उजुरी परेपछि मूल्यांकन प्रक्रिया रोकिएको छ।
धरहरा पुनर्निर्माणका लागि टेन्डर हाल्नेमध्येकै एक निर्माण कम्पनीले बोलपत्र शंकास्पद रहेको भन्दै छानबिनको माग गरी उजुरी गरेपछि मूल्यांकन प्रक्रिया अवरुद्ध भएको हो।
मंगलबार एक निर्माण कम्पनीले आर्थिक प्रस्ताव परेका निर्माण कम्पनीहरुको बोलपत्र शंकास्पद रहेको उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गराएपछि मूल्यांकन रोकिएको पुनर्निर्माण प्राधिकरणको सम्पदा महाशाखामा प्रमुख राजुमान मानन्धरले नेपाल लाइभलाई बताए।
धरहरा पुनर्निर्माणका लागि गत ३१ बैसाखमा प्राधिकरणले टेन्डर आह्वान गरेको थियो। सो अनुसार अन्तर्राष्ट्रिय निर्माण कम्पनीसँगको साझेदारीमा ६ वटा कम्पनीले आवेदन दिएका थिए। उक्त आवेदन प्राधिकरणले गत ७ असारमा खोलेको थियो।
१९ असारमा प्राधिकरणले आवेदन परेकामध्येबाट पाँच वटा कम्पनीको प्राविधिक प्रस्ताव स्वीकृत गरेको थियो। जसमा जेटआइइसी–लामा महाराजगञ्ज, सीआर ५ सिइसी–स्वच्छन्द नागार्जुन, कुमार–सिएफइसी चण्डोल, जिआइइटिसी–रमन र सिआइसिओ–कालिका–रसुवा धापासी जेभी छन्।
प्राविधिक प्रस्ताव स्वीकृत भएकाको आर्थिक प्रस्ताव मंगलबार बिहान ११ बजे खोल्ने तालिका प्राधिकरणले सार्वजनिक गरेको थियो। सार्वजनिक खरिदको व्यवस्था अनुसार सबैभन्दा कम रकमको बोलपत्र पेस गर्नेको बोलपत्र छनोट हुन्छ।
तर, प्राविधिक प्रस्ताव छनोट भएकामध्येकै सिआइसीओ–कालिका–रसुवा धापासी जेभीले बोलपत्र पेस गरेका बोलपत्रदाताहरुको कागजात छानबिन गर्न उजुरी गरेको हो।
‘बोलपत्रदाताले नै पेस भएका कागजात शंकास्पद भएको दाबी गर्दै छानबिन गर्न उजुरी गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट काम रोक्न निर्देशन आएको छ’, प्राधिकरणको सम्पदा महाशाखा प्रमुख मानन्धरले भने।
उजुरी परेसँगै अब प्राविधिक प्रस्ताव स्वीकृत भएका सबै कम्पनीको छानबिन गर्नुपर्ने मानन्धरले बताए। उनका अनुसार, ती बोलपत्र छानबिनका लागि एक साताको म्याद दिइएको छ।
प्राधिकरण स्रोतका अनुसार, आफू छनोटमा नपर्ने देखिएपछि उक्त कम्पनीले उजुरी गरेको हो।
चालू आर्थिक वर्षमै धरहरा पुनर्निर्माणको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीबाट गराउने लक्ष्य प्राधिकरणले लिएको थियो। तर, अन्तिम समयमा प्रक्रिया अवरुद्ध भएपछि उक्त समय अनिश्चित भएको छ।
धरहरा पुनर्निर्माणमा झन्डै चार अर्ब रुपैयाँ लाग्ने अनुमान छ। दुई वर्षभित्र धरहराको निर्माण सम्पन्न गर्ने लक्ष्य प्राधिकरणको छ।
नयाँ बन्ने धरहराको डिजाइन यसअघि नै प्राधिकरणले स्वीकृत गरिसकेको छ। डिजाइन अनुसार, नयाँ धरहरा जमिनमुनि दुई र जमिनमाथि २२ गरी २४ तलाको हुनेछ। धरहरामा चढ्ने र ओर्लिने गरी दुईतर्फी ‘लिफ्ट’ राखेर अपांगमैत्री समेत बनाइनेछ।
नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरी देवीको सम्झनामा निर्माण गरेका धरहरा १९९० सालको भूकम्पमा आंशिक क्षति भएको थियो। पछिल्लो समय १२ बैसाख २०७२ को भूकम्पले धरहरालाई पूर्णरुपमा भत्काएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।