काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का सांसद रामनारायण विडारीले डा गोविन्द केसीलाई जुम्लामा अनसन बसेकोप्रति व्यंग्य गर्दै सडकबाट विधेयक यसरी बनाउनुस् भनेर सांसदलाई नसिकाउन चेतावनी दिएका छन्।
राष्ट्रियसभामा नेपाली कांग्रेसले दर्ता गरेको सार्वजनिक महत्वको प्रस्तावमाथि आफ्नो विचार राख्दै सांसद विडारीले सरकारलाई सडकमा कसैसँग पनि सम्झौता गरेर सदनमा दबाव नदिन आग्रह गरे। माथिल्लो सदनमा दर्ता नै नभएको विधेयकको विषयमा छलफल गराउनु संसदलाई होच्चाउने कार्य भएको उनको टिप्पणी थियो।
‘यो हाउसमा विधेयक छैन तर प्रस्तावकले व्याख्या गर्नुभयो’, उनले भने, ‘यो हाउसलाई होच्चाउने कार्य भयो।’ मेडिकल कलेज खोल्ने कुरा प्रदेशको अधिकार भएकाले केन्द्रबाट हस्तक्षेप गर्नु संघियता विपरित हैन र? भनि उनले प्रश्न गरे। चीन र बङ्गलादेशको भन्दा नेपालमा चिकित्सा शिक्षा गुणस्तरीय भएकाले कलेज खोज्न रोक्न नहुने सांसद विडारीको तर्क थियो।
‘सार्वभौम सदनलाई बाहिरबाट धम्काउने, होच्याउने तथा दबाव दिने कार्य गर्न पाइँदैन।’, विडारीले भने, ‘सांसदले कानुन बनाउने हो, यो देशमा अरुले बनाउन पाउँदैनन्।’
उनले सदनले विधी र प्रक्रिया मार्फत कानुन बनाउने भएकाले डा केसीलाई अनसन तोड्न आग्रह गरे।
‘मेडिकल कलेज कति वटा, कुन ठाउँमा खोल्ने र कस्तालाई सम्बन्धन दिने भन्ने सरकारको कुरा हो’, विडारीले प्रश्न गरे, ‘भइरहेकालाई चल्न दिने, नयाँ खोल्न पाइँदैन भन्ने अनि पुरानो मात्र चलाउन पाइन्छ भनेको अर्थ के हो? अरुले खोल्न पाइँदैन मैले खोलिसकेको छु भन्न खोजेको हो?’
विधेयकको बारेमा सडकबाट सम्झौता गरेर सदनलाई दबाव दिने कार्य नगर्न विडारीले सरकारलाई आग्रह गरे। माथेमा आयोगको प्रतिवेदनलाई परिमार्जन गर्न पनि उनले माग गरे। ‘माथेमा आयोगमा बडे–बडे मानिस बसेका छन् भनेर ट्वाक– ट्वाक गरेर हुन्छ?’, विडारीले भने, ‘कानुन बनाउने कुरा सांसदको हो, उसले विवेकसम्मत् रुपमा बनाउँछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।