रसुवा– मानव बेचबिखन, ओसारपसार तथा यौनशोषणमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्की जिल्ला पोखरा महानगरपालिका–२६ का २४ वर्षीय सुरज दर्जी र सोही महानगर वडा नम्बर–६ धादिङगाउँ बस्ने २४ वर्षीय समर परियार रहेका छन्।
एक १९ वर्षीया युवतीलाई ललाइ–फकाई नक्कली नागरिकता बनाई चीनको केरुङमा अबैध क्रियाकलापमा संलग्न गराएको आरोपमा चिनियाँ प्रहरीको समन्वयमा रसुवा प्रहरीले दुई जनालाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक सन्तोष तामाङले बताए। उनले भने, ‘असार ४ गते एक युवतीलाई केरुङ पुर्याई डान्सबारमा यौनधन्दाको काममा लगाई अन्य दुव्र्यवहारसमेत गर्ने गरेको सूचनाको आधारमा युवतीको उद्धार गरेका हौँ।’
अनुसन्धानका क्रममा जेठ ११ गते पोखराबाट युवतीलाई फकाएर काठमाडाैं हुँदै रसुवाको स्याँफ्रुमा पुर्याई नागरिकता तयार नहुन्जेल होटेलमा राखी पटक–पटक यौनशोषण गरेको र सोपश्चात् केरुङ पुर्याइएको खुलेको प्रनाउ तामाङले जानकारी दिए। तामाङका अनुसार उनको केरुङमा पनि जबरजस्ति यौनशोषण गर्ने गरेको खुलेको छ।
घटनामा संलग्न ५ जनामध्ये २ जनालाई पक्राउ गरिएको र ३ जनाको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुई जनालाई मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरि आवश्यक अनुसन्धान अघि बढाइएको तामाङले बताए।
त्यस्तै उद्धार गरिएकी युवतीलाई माइती नेपाल काठमाडौं पठाउने तयारी भइरहेको पनि प्रहरी नायब उपरिक्षक तामाङले जानकारी दिए।
मानब बेचबिखन तथा ओसारपसार ऐन २०६४ को दफा १५ को उपदफा १ को ङ (१) अनुसार किन्नेबेच्ने वा वेश्यावृत्तिमा लगाउने उदेश्यले मानिसलाई विदेश लैजाने कार्यमा संलग्नलाई १० देखि १५ वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।