राजविराज– सप्तरीमा यस वर्ष ५६ करोड रुपैयाँ बराबरको आँप कारोबार भएको छ।
जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार जिल्लामा कुल २८ हजार मेट्रिक टन (२ करोड ८० लाख केजी) आँप उत्पादन भयो। प्रतिकेजी सरदर २० रुपैयाँका दरले करिब ५६ करोडको आँप कारोबार भएको कार्यालय प्रमुख भागिरथ यादवले बताए।
एकैपटक आँप उत्पादन भएको र सहज तथा व्यवस्थित बजार नहुँदा आँपको भाउ सस्तो भएको उनले बताए। अघिल्ला वर्षहरुमा सरदर ५०–६० रुपैयाँ केजीमा बिक्री हुने आँप यस वर्ष १५ रुपैयाँ केजीसम्म बिक्री गर्नुपर्दा कृषक मार परेको उनले जनाए।
‘आँप पाकिसकेपछि कुहिएर जाने भएकाले बेच्नै पर्ने वाध्यता भयो,’ यादवले भने, ‘जताततै आँप भएपछि बजार भाउ कमजोर हुँदा कृषकलाई मर्का पर्यो।’
सरकारी स्तरबाट आँपको बजार व्यवस्थापनका लागि खासै प्रक्रिया अघि नबढेको र आँप प्रशोधन गर्ने उद्योग पनि नभएकाले हरेक वर्ष आँपका कृषक समस्यामा पर्ने गरेको उनले बताए।
सप्तरीमा ७ हजार हेक्टर क्षेत्रफलमा आँप खेती गरिएकोमा ५ हजार हेक्टरमा मात्रै आँपको फल लागेको थियो। जेठ महिनामा आएको असिना र हावाहुरीका कारण कञ्चनरुप, सप्तकोसी नगरपालिकामा क्षति पुगेको हुँदा सरदर ३ हजार ५ सय हेक्टरमा मात्रै आँप उत्पादन भएको कार्यालयले जनाएको छ।
१ अर्ब ४८ करोड ६४ लाख रुपैयाँ बराबरको आँप उत्पादन हुने अनुमान गरिए पनि विभिन्न कारणले उत्पादन क्षेत्रफल घटेकाले अपेक्षा अनुसार कारोबार नभएको प्रमुख यादवको भनाइ छ।
गत वर्ष ७ हजार हेक्टर आँपको बगैंचामा २० हजार टन मात्र आँप उत्पादन भएको थियो।
कञ्चनरुपदेखि वलानसम्मको पूर्व–पश्चिम राजमार्ग आसपासमा बढी आँप खेती हुने गरेको छ। श्रीपुर, मधुपट्टी, मलहनिया, हरिहरपुर, प्रसवनी, शम्भुनाथ, वकधुवा, महुली, जन्डोल, मैनाकडेरी, रुपनगर लगायतका स्थानलाई आँपको पकेट क्षेत्र मानिन्छ।
सप्तरीमा मालदह, बम्बई, दशहरी, कलकतिया, आम्रपाली, नेगडा, बिजु, सरही, किसुनभोग जातका आँपको खेती हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।