काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बालुवाटारमा बसेको पार्टी केन्द्रिय सचिबालय बैठक अपरान्ह पाँच बजेसम्मका लागि स्थगित गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टीको नियमावली परिमार्जनका लागि गठित कार्य दलले तयार पारेको प्रतिवेदनमाथि प्रारम्भिक छलफल गरेपछि अपरान्ह पाँच बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।
नियमावलीलाई टुंगोमा पुर्याउन अपरान्ह पाँच बजे पुनः बैठक बस्ने निर्णय गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकले भोली बिहानसम्म नियमावलीलाई टुंगो लगाइसक्ने र पार्टीका जनवर्गीय संगठनहरुको एकीकरण प्रक्रिया तथा बिधान निर्माण लगायतका विषयलाई तीव्रता दिने निर्णय पनि गरेको छ। बैठकमा सबै नेताहरुले भातृ संगठनहरुको छिटो एकता गर्नपर्नेमा जोड दिएका छन्।
गत शनिबार बसेको पार्टी सचिबालय बैठकले नेताहरु बामदेव गौतम, रामबहादुर थापा तथा महासचिव विष्णु पौडेल रहेको कार्यदल गठन गरि तीन दिन भित्र नियमावली परिमार्जनका लागि आवश्यक सुझाव तयार पार्ने कार्यादेश दिएको थियो। अपरान्ह बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे पनि छलफल हुने पार्टीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।