ad

विभिन्न देशमा चितवन निकुञ्जबाट पुगे २६ गैँडा उपहार

Nepal Live

चितवन– चितवन राष्ट्रिय निकुञ्जबाट विभिन्न देशमा हालसम्म २६ गैँडा उपहारस्वरुप पठाइएको छ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालका अनुसार अमेरिकामा ६ र भारतमा ४ तथा बंगलादेश, पाकिस्तान, थाइल्यान्ड, म्यान्मार, जापान, जर्मनी, बेलायत र अष्ट्रियामा २-२ गैँडा सरकारले उपहार पठाएको छ।

निकुञ्जको तथ्यांक अनुसार पहिलो पटक सन् १९८५ मा भारतको दुधुवामा ४ गैँडा पठाइएको थियो। पछिल्लो पटक सन् २००६ मा अष्ट्रियामा एक जोडी गैँडा पठाइएको थियो। १२ वर्षपछि पुनः अहिले दुई जोडी गैँडा चीन पठाउन लागिएको छ। यससँगै निकुञ्जबाट पठाइएका गैँडा ३० पुग्नेछन्।

यसअघि गैँडा पठाएर भारत, म्यान्मार र थाइल्यान्डबाट हात्ती ल्याइएको थियो। निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रीत यादवले गैँडा दिएर भारतबाट मात्र १६ हात्ती ल्याइएको जनाए।विभिन्न देशमा सम्बन्ध सुमधुर बनाउनका लागि उपहार स्वरुप गै‌ँडा दिइएको उनले बताए। यसबाट गै‌ँडाको संख्यामा वृद्धि ल्याउन पनि सहयोग पुग्ने उनको भनाइ छ।

निकुञ्जबाटै विभिन्न देशलाई घडियाल र मगर गोही पनि उपहारस्वरुप दिइएको छ। चीनलाई गैँडा उपहार दिँदै गर्दा चीनबाट जेन्ट पाण्डा ल्याउन सके ठूलो उपलब्धि हुने उनले बताए। रासस

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार