सिरहा– मन्त्रीको दबाबमा डिएसपीलाई सरुवा गरिएको भन्दै मिर्चैयाका स्थानीयबासीले सोमबार चक्काजाम गरेका छन्। उद्योग मन्त्री मात्रिका प्रसाद यादबको दबाबमा केही दिनअघि इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दीपक खड्काको सरुवा गरिएको थियो।
डिएसपी खड्काले मन्त्री यादबका आफन्त सरोज यादब र बिन्टु यादबको घरमा पूजाको नाममा चर्काे आवाजमा गीत बजाएको भन्दै केही स्पिकरहरु निकालेका थिए। छिमेकीको गुनासाको आधारमा ठूलो आवाजमा नबजाउन भन्दा नमानेपछि प्रहरीले स्पिकर निकालेको थियो।
सोही रिसमा मन्त्रि यादबले दबाब दिएर उनको सरुवा गराएका हुन्। खड्काको गत महिना मात्र मिर्चैयामा सरुवा भएको थियो।
त्यस्तै मन्त्री यादबले एक विवाहमा भएको झै–झगडा घटनाको विषयमा पनि ज्यान मुद्दा दर्ता गर्न दबाब दिएका थिए। तर, सामान्य झगडा भएको भन्दै ज्यान मुद्दा दर्ता गर्न नमिल्ने बताएपछि उनले फोनमै अपशब्द बोली सरुवाको धम्की दिएका थिए। नेताको दबाब नमान्दा सरुवा भएको भन्दै स्थानीय प्रहरी समेत मन्त्री यादबसँग रुष्ट भएका छन्।
त्यसको विरोधमा स्थानीयले मन्त्री यादबले पुत्ला समेत जलाएर डिएसपी खड्काको सरुवा रद्द गर्न माग गरेका छन्। कटारी चोकमा नाराजुलुस गर्दै मन्त्रीविरुद्ध नाराबाजी गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।