कलैया- बाराको प्रसौनी गाउँपालिकाले छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए गाउँपालिकाले १० हजार रुपैयाँका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने निर्णय गरेको छ।
गाउँपालिकाको सोमबारको गाउँसभाले आगामी साउनदेखि ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ र सुत्केरी महिलालाई भत्ता दिने कार्यक्रम लागू गर्ने तथा गर्भवतीका हकमा दुई पोका नुन र एक हजारका दरले मासिक भत्ता समेत दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भोलाप्रसाद गुप्ताले जानकारी दिए।
छोरीलाई शिक्षामा सहज पहुँचका लागि अभियानको थालनी गरिएको गाउँपालिका उपाध्यक्ष गीता साहले बताइन्। उमेर नपुगेका छोरीहरूलाई विवाह गर्ने चलनका कारण धेरैको अकालमै ज्यान जाने गरेकाले अभिभावकलाई पनि गाउँपालिकाले कम्तीमा २० वर्ष उमेर पुगेपछि मात्र विवाह गराउन सुझाव दिएको छ।
गाउँपालिकाको सो निर्णयलाई स्थानीयवासीले स्वागत गरेका छन्। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।