जनकपुरधाम– धार्मिक र ऐतिहासिक महत्त्व बोकेको जानकी मन्दिरलाई विद्युतीकरणमार्फत आकर्षक पारिने भएको छ।
गैरआवासीय नेपाली संघले पाँच करोडको लागतमा मन्दिरको हरेक भागमा विद्युतीय बल्ब राखेर सौन्दर्यीकरण गर्ने भएको हो। करिब ५ करोड लागतमा गरिने विद्युतीकरणका सम्बन्धमा जानकी छुट गुठी र गैरआवासीय नेपाली संघ(एनआरएन) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सोमबार जानकी मन्दिरको प्रागंणमा आयोजित कार्यक्रममा गुठीका तर्फबाट उत्तराधिकारी महन्थ रामरोसन दास वैष्णव र संघको तर्फबाट अध्यक्ष भवन भट्टले समझदारीपत्रमा हस्ताक्षर गरे।
सहमति अनुसार आउँदो मंसिरमा हुने रामजानकी विवाह महोत्सवका दिन जानकी मन्दिरको विद्युतीकरणको उद्घाटन गरिनेछ।
कार्यक्रममा संघका अध्यक्ष भट्टले जानकी मन्दिरमा बिजुली मात्र नभई आगामी पुस्ताका लागि जनकपुरधामको कथा देखाउने गरी सजावट गरिने बताए। गैरआवासीय संघले सुरु गरेको उज्यालो नेपाल अभियान अन्तर्गत जानकी मन्दिरमा विद्युतीकरण गर्न लागेको उनले जानकारी दिए।
कार्यक्रममा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले जनकपुरधामको विकासका लागि स्थानीय युवाहरु पनि अगाडि बढ्नुपर्ने बताए।
‘स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन क्षेत्रमा मन लगाएर अगाडि बढ्यौं भने छोटो समयमै जनकपुरधामको विकास हुनेछ’, उनले भने।
यस्तै, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध बनाउन यहाँका ऐतिहासिक महत्वका सम्पदाहरुको सौन्दर्यीकरण गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।