काठमाडौं- लेखन, पत्रकारिता र सरकारी सेवामा लामो समयदेखि सक्रिय तथा भूगर्भविद् अरूणकुमार सुवेदीको आत्मकथा `जीवनयात्रा´ सार्वजनिक भएको छ।
भूगर्भशास्त्रका प्राध्यापक तारानिधि रेग्मी, पुस्तकका सम्पादक टंक पन्त, पत्रकारद्वय तीर्थ कोइराला, गुणराज लुइँटेल र पूर्वाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति जगतबहादुर क्षेत्रीले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन्।
पुस्तकमाथि बोल्दै भट्टराईले सुवेदीको आत्मकथाले उनी बहुआयामिक व्यक्तित्वका धनी भएको खुलाउने टिप्पणी गरे।
'उहाँको व्यक्तित्व, ओज र सोचका आधारमा नेपालमा यत्तिको होनहार मान्छे पनि छ र भन्ने प्रश्न उठ्छ', उनले भने, 'पुस्तकमा खानीको बारेमा आधारभूत जानकारीका साथै नेपालमा कहाँ कस्ता खानी छन् भन्ने व्याख्या गरिएको छ।'
अर्का वक्ता पत्रकार लुइँटेलले यो पुस्तक तथ्यगत रूपमा हेर्दा आधिकारिक दस्तावेज जस्तै भएको बताए।
'वन्यजन्तु संरक्षणमा सचेत गराउनुका साथै भूत, झाँक्री जस्ता हाम्रा पुराना सभ्यता र संस्कृतिका कुरा पनि नयाँ र अनुसन्धानात्मक ढंगले पुस्तकमा आएका छन्', उनले भने, 'हामीले बिर्सिसकेका ग्रामीण शब्द र प्रथाहरूका बारेमा पनि पाठकले नयाँ स्वाद अनुभव गर्न सक्छन्।'
सुवेदीको आत्मकथा माझकिरातमा बस्ने मानिसहरुको साझा कथा भएको उनले बताए।
पत्रकार कोइरालाले सुवेदीको व्यक्तित्व हेर्दा केही समयपछि जन्मिएका भए देश परिवर्तनका लागि गतिलो आधार बन्न सक्ने देखिएको बताए।
'पुस्तकमा तिथिमितिमा ख्याल गरिएको छैन, ठाडो भाषा छ', उनले भने, 'यस्ता सामान्य कमजोरीबाहेक पुस्तकले देशको आत्माको खोजी गरेको छ।'
यस्तै, पूर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति क्षेत्रीले आत्मकथा पढेपछि अरुणले जीवनमा कठोरभन्दा कठोर निर्णय पनि गरेको देखिने भन्दै साहसले मान्छेलाई अगाडि बढाउँछ भन्ने प्रेरणा नै पुस्तकको सन्देश भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।