फिफा– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएसँगै फाइनल पुग्ने टिमबारे लेखाजेखा सुरु भएको छ। सेमिफाइनलमा चार युरोपियन टिम बेल्जियम, फ्रान्स, क्रोएसिया र इंग्ल्यान्ड पुगेका छन्।
मंगलबारदेखि सुरु हुने सेमिफाइनल भिडन्त रोमाञ्चक हुनेछ। किनकी चारै टिमको आ–आफ्नै विशेषता छन्। त्यहि विशेषतालाई भरपुर सदुपयोग गर्दै चारै टिमले फाइनल पुग्ने लक्ष्य बनाएका छन्।
फ्रान्स : बहुमुखी प्रतिभा
समूह चरणमा फ्रेन्च टिमका खेलाडीले नामअनुसारको प्रदर्शन गर्न सकेनन्। समूह चरणमा कठिन जित हात पार्दा प्रशिक्षक डिडियर डेस्चाम्सको रणनीति र स्टार खेलाडी प्रदर्शनको आलोचना भएको थियो। तर फ्रान्सले नकआउट चरणमा उत्कृष्ट प्रदर्शन गर्दै आलोचकको मुख बन्द गरिसकेको छ।
टिममा रहेका स्टार खेलाडीले चाहिएको बेला प्रदर्शन गरेका छन्। फ्रान्सले ४–३–३ र ४–२–३–१ को दुई वटा संरचनामा खेल खेलिसकेको छ। दुबै संरचनामा टिम सफल भएको छ। प्रशिक्षकले फरवार्ड ओलिभर जिरुडको बलियो शारिरीक बनावट र केलियन एमबाप्पेको तीव्रताको सदुपयोग गरे सेमिफाइनलको खेलमा सहज हुने देखिन्छ।
जारी विश्वकपमा कुनै पनि टिम कमजोर नभएको पुष्टि भइसकेको छ। जर्मनी र स्पेन जस्ता बलिया मानिएको टिमले पनि आफ्नो खेल्न खेल्न सकेनन्। यस्तै बल बढी नियन्त्रणमा लिदैमा जित निकाल्न नसकिने र अनुभवले जितको ग्यारेन्टी नहुने पुष्टि भइसकेको छ। यी बाहेक अरु सबै बिकल्प भने खुला छन्।
बेल्जियम : टिम भावना
रसिया जानुअघि बेल्जियमलाई बलिया मध्येको एक टिम मानिएको थियो। त्यहिअनुसार बेल्जियमले आफ्नो क्षमता प्रमाणित गरेर सेमिफाइनलको यात्रा तय गर्यो। बेल्जिमयले कुनै एक खेलाडीको क्षमता भन्दा पनि टिम भावनाले सफलता हात पारेको हो।
बेल्जियम फाइनल पुगेर ऐतिहासिक सफलता हात पर्ने क्षण नजिक छ। बेल्जियमले नकआउट चरणमा जित हात पार्दा सबै खेलाडी कटिबद्ध देखिएका थिए। टिमका स्टार खेलाडीहरु इडिन हजार्ड, केभिन डे ब्रुइन र रोमेलु लुकाकुले चाहिएको बेला टिमका लागि योगदान गरिसकेका छन्। बेल्जियम यी तीन खेलाडीमा मात्र भर परेको छैन। जारी विश्वकपमा बेल्जियमका ९ फरक खेलाडीले गोल गरिसकेका छन्। सबै खेलाडीले आफ्नो स्थानमा उच्चतम योगदान गरिरहेका छन्।
प्रशिक्षक रोबर्टो मार्टिनेजले बेल्जियमलाई सहि दिशा दिइरहेका छन्। प्रत्येक खेलाडीको क्षमता बुझ्दै सहि सयम र स्थानमा उपयोग गरिरहेका छन्। जसले गर्दा बेल्जियम एकबद्ध भएको छ। बेल्जियमका सबै खेलाडी फिट छन् भने जुनसुकै स्थानमा खेल्न तयार देखिएका छन्। यति मात्र होइन सब्सिच्युट बस्दै त्याग गर्न समेत तयार देखिएका छन्।
इंग्ल्यान्ड : विविधता
इंग्लिस टिमको खास विशेषता भन्न गाह्रो छ। किनकी इंग्ल्यान्डले जारी विश्वकपमा फरक–फरक तरिकाले जित निकालेको छ। २०१८ विश्वकपको युवा टिम इंल्यान्डले हरेक खेलमा सुधार ल्याएको त छ नै खेलाडीमा आत्मविश्वास बढिरहेको छ। अधुनिक शैली र एकजुट भएर खेल्दा इंग्लिस टिम बलियो बनेको छ। इंग्लिस टिम सबै प्रकारका परिस्थितिको सामना गर्न तयार भइसकेको छ। प्रशिक्षक गारेथ साउदगेटको व्यवस्थापकीय पक्ष चुस्त देखिएको छ। विश्वकपमा पेनाल्टी सुटआउटमा पहिलो जित निकाल्दै इतिहास बनाएको इंग्लिस टिममा रहेका सबै खेलाडी स्टार बन्नलायक छन्।
गोलकिपर जोर्डन पिकफोर्ड र सर्वाधिक गोलकर्ता (६ गोल) ह्यारी केन २४ वर्षका भए। यी युवा खेलाडबाट प्रेरित इंल्यान्ड सन् १९९० पछि सेमिफाइनल पुगेको छ। अब इंग्ल्यान्ड सेमिफाइनलमै चित्त बुझाउने पक्षमा पक्कै छैन। उपाधि जितेर आधुनिक फुटबलमा इतिहास बनाउन चहान्छ।
क्रोएसिया : मिडफिल्डमा अब्बल
विश्वकप सुरु हुनुअघिनै क्रोएसियाका अगाडि चुनौताको पहाड थियो। समूहमा दक्षिण अमेरिकाको फुटबल शक्ति अर्जेन्टिना र अफ्रिकी महारथी नाइजेरिया थिए। अर्को नवप्रवेशी आइसल्यान्डले युरोपकमा राम्रो खेल्दै प्रभाव छाडेको थियो। 'ग्रुप अफ डेथ'का लागि क्रोएसियाले राम्रो तयारी मात्र गरेन मनोवैज्ञानिक रुपमा बलियो बन्यो। प्रशिक्षक जेटलाट्को डालिकले टिमको मिडफिल्डमा रहेका स्टार खेलाडीबाट फाइदा उठाउने रणनीति बनाए। जसमा उनी सफल भए। समूह चरणमा प्रभावशाली खेल पस्कदै तीन खेलमै जित निकाल्यो। डिफेन्स र फरवार्ड लाइनमा पनि क्रोएसियाले निरन्तर सुधार ल्यायो।
मिडफिल्डरद्वय लुका मोड्रिक र इभान राकिटिक क्रोएसियन टिमको महत्वपूर्ण खेलाडी हुन्। स्पेनिस क्लबद्वय रियल म्याड्रिड र बार्सिलोनाबाट खेल्ने दुईको तालमेल गजबको छ। दुवैले अन्य खेलाडीलाई ड्रेसिङ रुपमा समेत एकजुट बनाउने काम गरिरहेका छन्। यी दुईलाई अन्य खेलाडीले पनि राम्रो साथ दिएका छन्। इन्टर मिलानका मार्सेलो ब्रोजोभिक, रियल म्याड्रिडका मटेओ कोभाकि, फ्लोरेन्टिनाका मिलान बडेल लगायताको संयोजनले क्रोएसियाको मिडफिल्ड उत्कृष्ट बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।