काठमाडौं– सरकारले लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने आश्वासन दोहोर्याएको छ।
उक्त उद्योग चलाउने गर्ने निर्णयसहित सरकारले उद्योग सञ्चालनको मोडालिटी, लगानी लगायतका विषयमा अध्ययन गर्न समिति गठन गरेको छ।
यसअघि असोज २०७३ मा तत्कालिन उद्योग मन्त्री नविन्द्रराज जोशीले पनि उक्त उद्योग सञ्चालन गर्ने घोषणा गरेका थिए। उनले पनि उद्योग सञ्चालनको मोडालिटी तयार गर्न अध्ययन समिति गठन गरेका थिए। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेसँगै मन्त्री जोशीको उक्त योजना अलपत्र परेको थियो।
हालका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले पुरानो सरकारको योजना पुनः अघि सारेका छन्। सोमबार मन्त्रालयमा नेपाली सेनासँग छलफल गरी मन्त्री यादवले उद्योग सञ्चालनबारे अध्ययन गर्न सात सदस्यीय समिति गठन गर्ने निर्णय गरेका हुन्।
उक्त समितिमा सेनाका तर्फबाट मेकानिकल, मार्केटिङ र टेक्स्टाइल सम्बन्धी ज्ञान भएका तीन अधिकृत स्तरका कर्मचारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका तर्फबाट प्रशासन तथा संस्थान महाशाखाका प्रमुख र मेकानिकल इञ्जिनियर, अर्थ मन्त्रालयको संस्थान समन्वय महाशाखाका उपसचिव र विज्ञका रुपमा आपूर्ति मन्त्रालयबाट मनोनीत एक जना मेकानिकल इञ्जिनियरको सहभागिता रहने मन्त्रालयले बताएको छ।
उद्योग सञ्चालनको जिम्मा भने सेनालाई दिने तयारी रहेको मन्त्रालयका सह–सचिव सत्रुघ्नप्रसाद पुडासैनीले बताए।
‘मन्त्रालय आफैंले उद्योग सञ्चालन गर्ने होइन, यसका लागि कि निजी क्षेत्र कि सेनालाई जिम्मा दिने हो’, उनले भने, ‘पूर्वाधारमा पछिल्लो समय सेनाले प्राप्त गरेको उपलब्धि हेर्दा उही नै बढी सक्षम देखिन्छ।’
विगतमा नेपाली सेना आफैंले पनि उद्योग सञ्चालन गर्ने प्रस्ताव गरेको थियो। सेनाले अहिले रहेका पूर्वाधार मर्मत गरेर सञ्चालन गर्ने प्रस्ताव उद्योग मन्त्रालयमा पेस गरेको थियो।
हेटौंडा कपडा उद्योग २०५६ फागुनदेखि बन्द छ। सञ्चालनमा रहँदा उक्त उद्योगले वार्षिक २ हजार ३ सय मेट्रिक टनसम्म धागो र साढे २ करोड मिटर कपडा उत्पादन गथ्र्यो। सरकारले २०६९ मा उद्योगको सम्पत्ति सेयर लगानीका रूपमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अन्तर्गत ल्याएको थियो।
नेपाल र चीन सरकारको संयुक्त लगानीमा २०३२ मा स्थापना भएको उद्योग १ सय ८८ रोपनी क्षेत्रफलमा फैलिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठमा उक्त कपडा उद्योग निजी क्षेत्रलाई समेत भित्र्याएर पुनः सञ्चालनमा ल्याउने बताएका थिए।
हेटौंडा कपडासँगै बुटवल धागो कारखाना र वीरगञ्ज चिनी कारखाना पनि पुनः सञ्चालनमा ल्याउने योजना वर्तमान सरकारको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।