काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले अनसनरत डा गोविन्द केसीलाई चिन्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। सोमबार संसद्मा बोल्दै थापाले डा केसीको स्वास्थ्य अवस्था बिग्रिएकोमा चिन्ता व्यक्त गरे।
'म विनित भएर आग्रह गर्छु', थापाले प्रधानमन्त्रीलाई आग्रह गर्दै भने, 'डा केसीलाई चिन्नुस्। कुनै झन्ड उहाँसँग छैन। कुनै लोभ छैन। स्वार्थ छैन। केवल नेपालको चिकित्सा शिक्षा सुधार्ने नशा छ। त्यो नशा कसैले नजरअन्दाज गरेर उत्रँदैन। कसैले तर्साएर पनि उत्रँदैन। उहाँको माग सम्बोधन गरौं। नेपाली कांग्रेस सरकारसँग मिलेर काम गर्न तयार छ।'
शाही शासनकालमा आन्दोलनरत शक्तिको संख्यालाई नजरअन्दाज गरेका ज्ञानेन्द्रले जस्तै अहिलेका प्रधानमन्त्री केपी ओलीले पनि संख्या गनिरहेको आरोप थापाले लगाए।
'सत्यको पक्षमा उभिँदै गर्दा फगत एक जना भए पनि पुग्छ। आज डा गोविन्द केसी सत्यको पक्षमा उभिनुभएको छ। त्यो उभिँदै गर्दा मान्छे कति छन्, नहेर्नुस् प्रधानमन्त्रीज्यु। टाउको कति छन् नहेर्नुस्। सदनको टाउको पनि नगन्नुस्', थापाले आग्रह गरे।
चिकित्सा शिक्षा विधेयकमा प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले एउटा-दुइटा व्यक्तिको स्वार्थको कुरालाई छाडेर मात्रै हेर्ने हो भने सँगै उभिएर पारित गर्न सकिने अवस्था भएको थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।