काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा अहिलेसम्म ६० खेल सकिएका छन्। अब बाँकी रहेका ४ खेलबाट विजेताको टुंगो लाग्नेछ। भाग लिएका ३२ टिम मध्ये २८ टिम घर फर्किसकेका छन्।
विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्न लक्ष्य लिएका कतिपय टिमले राम्रो खेल्न सकेनन्। जसका कारण करिअरको अन्त्यमा रहेका भेट्रान खेलाडीका लागि पिडादायी क्षण बन्यो। विश्वकपबाट आफ्नो टिम बाहिरिएपछि अहिलेसम्म ४ स्टार खेलाडीले सन्यास लिएका छन्।
जाभियर मास्चिरानो (अर्जेन्टिना)
डिफेन्डर मास्चिरानोले २००६ मा पहिलोपटक विश्वकप खेल्ने मौका पाए। उनले विश्वकपमा डेब्यू गरेको खेलमा अर्जेन्टिनाले आइभरी कोस्टलाई २–१ ले हराएको थियो। राष्ट्रिय टिममा डेब्यू भने उनले २००३ मा उरुग्वे विरुद्धको खेलबाट गरेका थिए। उक्त खेलमा २–२ गोलको बराबरीमा सकियो।
जारी विश्वकपसहित ४ विश्वकप खेल्ने मौका पाएका उनले २० खेल खेले। जसमा अर्जेन्टिना १२ खेल विजयी हुँदा ४ बराबरी र ४ खेलमा पराजित भयो। उनको विश्वकपको अन्तिम खेल फ्रान्सविरुद्ध रह्यो। अन्तिम १६ को खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलले पराजित गर्यो। अर्जेन्टिना विश्वकपबाट बाहिरिएसँगै उनले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिए।
केइसुके होन्डा (जापान)
होन्डाले २०१० मा पहिलो पटक विश्वकप खेलेका थिए। उनले विश्वकपको डेब्यू गरेको खेलमा जापानले क्यामरुनलाई १–० गोलले हराएको थियो। डेब्यू खेलमा होन्डाले ३९ मिनेट गोल गरेपछि जापानले जित हात पारेको थियो।
राष्ट्रिय टिममा भने उनले सन् २००८ मा बहराइन विरुद्धको खेलबाट डेब्यू गरेका थिए। खेलमा जापान १–० गोलले विजयी भएको थियो। उनले विश्वकपका ११ खेल खेल्दा ४ गोल गरे। ११ खेल मध्ये जापानले ३ जित, ३ बराबरी र ५ हार बेहोर्यो।
विश्वकपमा उनले बेल्जियमबिरुद्ध अन्तिम खेल खेले। जसमा २–० ले अग्रता लिए पनि जापानले बेल्जियमलाई ३–२ ले नतिजा सुम्पियो। विश्वकपबाट जापान बाहिएसँगै होन्डाले पनि अन्तर्राष्ट्रिय खेल नखेल्ने निर्णय गरे।
आन्द्रेस इनिस्टा (स्पेन)
इनिस्टाले सन् २००६ राष्ट्रिय टिममा रहदै विश्वकप खेल्ने मौका पाए। विश्वकपको डेब्यू खेल उनले साउदी अरेबियाविरुद्ध खेले। सो खेलमा स्पेन १–० ले विजयी भयो। उनले अन्तर्राष्ट्रिय खेलमा सन् २००६ मै रसियाविरुद्धको खेलबाट डेब्यू गरेका थिए। खेल गोलरहित बराबरीमा सकिएको थियो।
उनले विश्वकपमा १४ खेल खेल्दा २ गोल गर्न सफल भए। सन् २०१० को फाइनलमा नेदरल्यान्ड्सविरुद्ध उनले गोल गर्दा स्पेनले पहिलोपटक विश्वकपको उपाधि जितेको थियो। उनले विश्वकपमा ८ जित हात पार्दा समान ३–३ बराबरी र हारको सामना गरे।
जारी विश्वकपमा रसियाविरुद्धको खेल उनको विश्वकपको अन्तिम खेल बन्यो। खेलमा स्पेन पेनाल्टी सुटआउटमा पराजित भएपछि अन्तिम १६ बाटै घर फर्कन बाध्य भयो। योसँगै भावुक बनेका इनिस्टाले संन्यास लिने निर्णय गरे।
राफायल मार्क्युज (मेक्सिको)
मार्क्युजले सन् २००२ मा पहिलोपटक विश्वकप खेलेका थिए। उनले क्रोएसिया विरुद्धको खेलबाट विश्वकपमा डेब्यू गरेका थिए। सो खेलमा मेक्सिको १–० ले विजयी भयो। उनले अन्तर्राष्ट्रिय खेलमा भने १९९७ मा डेब्यू गरेका थिए। उनले डेब्यू गरेको खेलमा मेक्सिकोले इक्वेइडरलाई ३–१ ले पराजित गरेको थियो।
उनले विश्वकपमा २० खेल खेल्दा ३ गोल गरे। ५ विश्वकप खेलेका मार्क्युजले ८ जित हात पार्दा ४ बराबरी र ८ हार पराजय भोगे। उनले २०१८ विश्कवपमा जर्मनीविरुद्ध खेल्दै ५ विश्वकप खेल्ने तेस्रा खेलाडी बन्दै इतिहास बनाएका थिए।
उनले अन्तिम खेल ब्राजिलविरुद्ध खेले। जारी विश्वकपको अन्तिम १६ को खेलमा ब्राजिलले मेक्सिकोलाई २–० गोलले हरायो। हारसँगै उनले पनि अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिने घोषणा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।