काठमाडौं– अर्थमन्त्री युवराज खतिवडाले भूगोल र जनसंख्यालाई आधार बनाएर गरिएको बजेट विनियोजनले संघीयतालाई आत्मसाथ गरेको दाबी गरेका छन्।
सोमबार राष्ट्रियसभा बैठकमा अर्थ मन्त्रालय अन्तर्गत विनियोजित बजेटमाथि राष्ट्रियसभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले भूगोल र जनसंख्यालाई आधार बनाउँदै अन्य परिसूचकलाई पनि मध्यनजर गरी सन्तुलित ढंगले बजेट आएको दाबी गरे। उनले भूगोल र जनसंख्याको सन्तुलनलाई बुझिदिन सांसदहरुलाई आग्रह गरे।
सीमित साधनलाई असीमित प्राथमिकतामा बाड्नुपर्दा केही आयोजना–परियोजनालाई आवश्यक बजेट विनियोजन गर्न नसकेको भए पनि प्रदेश र स्थानीय तहमा विनियोजन भएको बजेटलाई समेत हेरेर समग्र मूल्यांकन गर्नुपर्ने अर्थमन्त्री खतिवडाको तर्क थियो। उनले संघको बजेट मात्रै हेरर समग्र बजेटको आकार र प्रकृतिको धारणा बनाई व्याख्या गर्न नहुने बताए। मन्त्री खतिवडाले बजेट कार्यान्वयको सवालमा सरकार गम्भीर रहेको बताए।
राष्ट्रियसभा सदस्यहरुले बजेटमा प्रादेशिक सन्तुलनको कुरा उठाउँदै संघीयतालाई आत्मसाथ गर्न नसकेको र कार्यान्वयनमा जटिलता रहेको टिप्पणी गरेका थिए।
सांसदकै सवालमा चौमासिक बजेटका कारण शिक्षकले तलब पाएनन् भन्नेमा सत्यता नभएको भन्दै उनले चौमासिक बजेट पठाउन ढिलाइ नभएको दाबी गरे।
उनले व्याजदरका सम्बन्धमा भने केन्द्रीय बैंकले केही समयपछि सार्वजनिक गर्ने मौद्रिक नीतिले सम्बोधन गर्ने बताए।
अर्थमन्त्री खतिवडाले भारतीय ५ सय र १ हजारका नोट सटहीका लागि भारत सरकारसँग छलफल भइरहेको जानकारी दिए। विशेष गरेर ५ सय र १ हजार दरका भारतीय रुपैयाँ सटहीको व्यवस्था नहुँदा सीमा क्षेत्रमा भएको असुविधाप्रति भारत सरकारसँग नया ढंगले छलफल अघि बढाइएको उनले स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।