पोखरा– शुक्रबार मुस्ताङमा भएको टिप्पर दुर्घटनाबाट ज्यान गुमाएकाहरुको परिवारले जनही ५ लाख रुपैयाँ क्षतिपूर्ति र घाइतेले निःशुल्क औषधि–उपचार पाउने भएका छन्। दुर्घटनामा ज्यान गुमाएका र घाइतेका आफन्त तथा निर्माण कम्पनी ‘विरुवा कन्स्ट्रक्सन’बीच आइतबार जिल्ला प्रहरी कार्यालय कास्की तथा रोल्पा–पोखरा सम्पर्क समितिको रोहबरमा क्षतिपूर्ति सम्बन्धी सहमति भएको हो। ‘दुवैपक्षलाई राखेर क्षतिपूर्तिको सहमति गरेका छौं,’ रोल्पा–पोखरा सम्पर्क समितिका अध्यक्ष सुन्दर बुढामगरले भने।
सहमति अनुसार प्रतिमृतक ५ लाखसहित थप ५० हजार क्रिया खर्च कन्स्ट्रक्सन कम्पनीले बेहोर्नेछ। त्यसका साथै, दुर्घटनामा बाबुआमा (मौसम र जीतमाया घर्तीमगर) गुमाएका विवश घर्ती र विशेषण घर्तीलाई थप ३–३ लाख रुपैयाँ दिने सहमति भएको बुढामगरले जनाए।
पोखरामा रहेका शव बुझियो
दुर्घटनामा परी ज्यान गुमाएकाहरुको शव शनिबार सम्बन्धित जिल्लामा पुर्याइएको थियो। पोखराम राखिएका ४ शव भने आइतबार आफन्तले बुझेका छन्। शव बुझेर आइतबार नै उनीहरुले सेती घाटमा अन्त्येष्टी समेत गरे।
आइतबार पोखरामा रोल्पा थबाङ–१ का ३७ वर्षीय मौसम घर्तीमगर, उनकी श्रीमती ३१ वर्षीया जीतमाया घर्तीमगर, थबाङ–५ कि २१ वर्षीया जीतकुमारी घर्ती र स्याङ्जा अर्जुन चौपारी गाउँपालिका २४ वर्षीय अर्जुन चौधरीको शव आफन्तले बुझेका हुन्।
शुक्रबार कालीगण्डकी करिडोरको भेनादेखि झैते सडकखण्डमा कार्यरत मजदुर चढेको बा२क २२१९ नम्बरको टिप्पर दुर्घटनामा ६ महिला र १४ पुरुषको मृत्यु भएको थियो। दुर्घटनामा घाइते भएका १२ मजदुरको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।