पोखरा– आइतबार साविक गण्डकी अस्पतालको पोस्टमार्टम भवन अगाडि मान्छेको भीड थियो। मैदानमा ३ वटा शव लहरै सुताइएको थियो। मृतकका आफन्त भुँइतिर हेर्दै रोइरहेका थिए। त्यतिमात्र नभएर त्यहाँ उपस्थित अन्य व्यक्तिले समेत आफ्नो आँखा ओभानो राख्न सकिरहेका थिएनन्, सुक्सुकाउँदै थिए। तिनै भीडमा १ जना बालक डाँको छोडेर रोइरहेका थिए भने अर्को सानो बालक चुपचाप घाँसे मैदानमा दुबोसँग खेलिरहेका थिए।
ती दुई बालक थिए– शुक्रबार मुस्ताङको कालीगण्डकी कोरिडोरमा २० जनाको ज्यान जानेगरी भएको टिप्पर दुर्घटनामा ज्यान गुमाएका मौसम घर्तीमगर (३७) र जितमाया घर्तीमगर (३१) का छोरा। घर्ती दम्पत्तीले दुर्घटनामा ज्यान गुमाएसँगै ती दुबै बालक अनाथ भएका छन्। जेठो छोरा विवश घर्तीमगर अहिले १२ वर्षका भए। उनका भाइ विशेषण घर्ती ५ वर्षका। उनीहरु नयाँबजार सुकुम्बासी बस्तीमा बस्छन्। नयाँबजारकै विद्यालयमा कक्षा ७ र १ मा पढ्छन् उनीहरु।
‘आपत र दुर्घटना बाजा बजाएर आउँदैन’ भन्ने उखान हामीले सुन्दै आएका हौं। हुन पनि जीवनमा कहाँ, कस्तो क्षण आइपर्छ कसैलाई थाहा हुँदैन। तर, यही उखान चरितार्थ भएको छ, रोल्पाबाट रोजगारी खोज्दै ज्याला मजदुरी गर्न मुस्ताङ गएका घर्ती परिवारमाथि।
वैशाख महिनामा पोखरामा ज्यालामजदुरी गरेर कमाएको पैसाले खानलाउन अपुग भएपछि ‘मुस्ताङमा धेरै कमाइ हुन्छ’ भन्ने सुनेर त्यतातर्फ लागेका थिए मौसम। एक हप्तापछि उनकी श्रीमती जितमाया पनि उतै लागेकी थिइन्ः केटाकेटी छिमेकीको जिम्मा लगाएर। तर, शुक्रबारको दुर्घटनापछि उनीहरुको पैसा कमाउने सपना मात्र तुहिएन, जिन्दगी बाँच्ने ‘आयु’ पनि तुहियो।
१२ वर्षीय विवशलाई ज्ञात भइसकेको छ, ‘अब बाआमा फर्केर आउँदैनन्।’ उनलाई ठूलो शोक परेको छ। आइतबार ठूलो भीडमा क्षतविक्षत आफ्ना बाबुआमाको अनुहार हेर्नुपर्दा उनी रोइरहेका थिए।
उनी बिहानै उठेर बाबुआमाले सिकाए जसरी राइस कुकरमा खाना बसाल्थे। गोर्खाबाट आएका छिमेकीसँग तरकारी सापट माग्थे अनि आफू खान्थे र भाइलाई पनि खुवाउँथे। उनलाई लागेको थियो, ‘केही दिन त हो आमा फर्केर आउनुहुन्छ र आफैं खाना पकाइदिनुहुन्छ, त्यसपछि मागेर खानुपर्दैन।’ तर, उनको सोचाइ अब कहिल्यै यथार्थमा परिणत हुँदैन।
सानो उमेरमै विवशलाई भाइ पनि हेर्नुपर्ने जिम्मेवारी आइलागेको छ। जम्मा ५ वर्ष उनका भाइलाई यो चोटले गहिरो दुखाइ दिएको छैन। ती अबोधलाई थाहै छैन के भइरहेको छ भन्ने।
बाबुआमाले दुर्घटनामा ज्यान गुमाएपछि निर्माण कम्पनी ‘विरुवा कन्स्ट्रक्सन’ले ती दुई बालकको हेरचाहका लागि जनही ३–३ लाख रुपैयाँ दिने निर्णय गरेको छ। तर, त्यतिले मात्रै नहुने कम्तिमा १२ कक्षासम्म कम्पनीले पढाइदिनुपर्ने र त्यसपछि कम्पनीमै रोजगार दिनुपर्ने उनीहरुकी फुपू दल्लीकुमारी घर्तीको माग छ।
दल्लीकुमारी घर्ती (फुपू)
‘आफन्त भनेको म र ९२ वर्षीय आमा (हजुरआमा) मात्रै हौं,’ उनी भन्छिन्, ‘म अर्काको घर गाको जिन्दगीभर साथ दिन सक्दिनँ, उनीहरुको भविष्य सुनिश्चित हुनुपर्छ।’
पहिले विवश र विशेषण घर्तीसँग उनीहरुको मामाकी छोरी पनि बस्थिन्। तर, १२ को पढाइ सकिएपछि उनी घर गएकी छिन्। मामाकी छोरी घर गएपछि भने विवशले आफैं खाना पकाउन थालेको उनकी फुपू दल्लीकुमारीले सुनाइन्। भदैहरु अझै केहीसमय एक्लै बस्नुपर्ने उनको भनाइ थियो। ‘अहिले लग्यो भने पढाइ बिग्रन्छ, चाडपर्वमा लिन आउँछु,’ उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।