ad

चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेल पदमुक्त, अन्योलमा 'बक्स अफिस'

Nepal Live

काठमाडौं– गत बुधबारको मन्त्रिपरिषद् बैठकले पूर्ववर्ती देउवा सरकारले भदौ १४ पछि गरेका राजनितिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो। यससँगै नेपाल चलचित्र बोर्डकी अध्यक्ष निकिता पौडेल पनि पदमुक्त भएकी छिन्। 

गत मंसिर २५ गते बोर्डको अध्यक्ष नियुक्त पौडेलसहित बोर्डका अन्य पदाधिकारीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार अवकासपत्र बुझाएको छ। अवकासपत्र बुझ्नेमा बोर्ड अध्यक्ष पौडेलका साथै सदस्यहरु विजय देउजा, उमेश खड्का र चलचित्र सेन्सर बोर्डका सदस्य देवीराम पराजुली रहेका छन्। 

पदाधिकारीहरु पदमुक्त भएपछि बोर्डले बनाएका भावी कार्ययोजनाको कार्यान्वयनमा शंका पैदा भएको छ। विगत ८ वर्षदेखि चल्दै आएको बक्स अफिस सञ्चालनको मुद्दा पनि अन्योलमा परेको छ। बोर्डको अगुवाइमा आउँदो साउन १ गतेबाट उपत्यकाभित्र र माघ १ बाट देशैभर बक्स अफिस प्रणाली सुरु गर्ने तयारी भइरहेको थियो।

निवर्तमान अध्यक्ष पौडेलले आफ्नो सातमहिने कार्यकालमा नेपाल चलचित्र क्षेत्रमा सुधार्ने प्रयास गरेको र केही उपलब्धि हासिल हुने क्रममा राजनीतिक उतारचढावका कारण अवरोध भएको बताइन्।

उनले नेपाल लाइभसँग भनिन्, 'मलाई लाग्छ, बोर्डले थालेर बाँकी रहेका काम  अब आउनुहुने पदाधिकारीहरुले पूरा गर्नुहुन्छ होला।’

पौडेल बोर्ड अध्यक्षमा आउनु अगाडि तत्कालीन अध्यक्ष राजकुमार राईको कार्यकालमा पनि बक्स अफिस लागू गर्न सफ्टवेयर टेन्डर आह्वानसम्मको चरण पार भएको थियो। त्यसपछिका चरणलाई पौडेलले अगाडि बढाएकी थिइन्।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार