काठमाडौं– आगामी भदौ १४ गतेदेखि भृकुटीमण्डपमा ‘फर्निचर तथा फर्निसिङ एक्स्पो’ आयोजना हुने भएको छ।
नेपाल फर्निचर्स तथा फर्निसिङ संघले छैटौं संस्करणको एक्स्पोलाई घर सजावट विशेष बनाइने जनाएको छ। बढ्दो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य हुने आयोजकले बताएको छ। एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गर्नेछ।
किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइन, मार्बल लगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो। आयोजकका अनुसार, कार्पेट, पर्दा, म्याट्रेस, अन्य सजावट सामग्री, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेसिनरी सामग्रीका साथै वास्तुसँग सम्बन्धित उत्पादन पनि प्रदर्शनीको आकर्षण रहनेछन्।
पाँच दिनसम्म चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी एक सयभन्दा बढी फर्निचर र फर्निसिङ सामग्रीका स्टल रहने जनाइएको छ।
नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०१२ देखि हरेक वर्ष एक्स्पो आयोजना हुँदै आएको छ। नेपालमा फर्निचर तथा फर्निसिङका उत्पादनहरुको वार्षिक ३० अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको आकलन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।