सुर्खेत– फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदाय अब दैलेखको गुराँस गाउँपालिकाका स्थायी बासिन्दा हुने भएका छन्। गाउँपालिकाले राउटेहरुलाई स्थानीय नागरिकको रुपमा परिचयपत्र दिने भएको छ। उनीहरुलाई स्थायी ठेगानासहितको परिचयपत्र दिइने भएको हो।
गाउँपालिकाको प्रस्तावलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्वीकृति दिइसकेको छ। मन्त्रालयबाट राउटे समुदायका सबै नागरिकको नाम, थर र ठेगाना खुल्नेगरी परिचयपत्र वितरण गर्न परिपत्र आएसँगै गाउँपालिकाले उक्त कार्य अघि बढाउने प्रक्रिया सुरु गरेको हो। अब राउटेहरुको स्थायी ठेगाना गुराँस गाउँपालिका, दैलेख कायम हुने भएको छ।
गाउँपालिकाले राउटेहरुलाई स्थायी ठेगाना र परिचयपत्र दिनुका साथै उनीहरुको सामाजिक सुरक्षा, स्वास्थ्य लगायतका कुरामा पनि ध्यान दिने गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिए। ‘उनीहरुको नियमित निगरानी गर्नुका साथै स्वास्थ्य, शिक्षा लगायतका सेवा दिनका लागि यसै आर्थिक वर्षबाट काम सुरु गरिनेछ’, ओलीले भने। यसका लागि गाउँपालिकाले दुई जना कर्मचारी समेत नियुक्त गरिसकेको उनले जनाए।
नियुक्त भएका २ जना कर्मचारीमध्ये एक जनाले राउटेको स्वास्थ्य हेर्नेछन् भने अर्का एक जनाले उनीहरुको शिक्षा हेर्ने छन्। अध्यक्ष ओलीका अनुसार नियुक्त गरिएका कर्मचारी र राउटेलाई दिइने भत्ताको लागि संघीय सरकारले गाउँपालिकाको खातामा १ करोड २७ लाख रुपैयाँ रकम पठाइसकेको छ। ‘गाउँपालिकाले कर्मचारी नियुक्त गरिसकेको छ, अब राउटेहरुको उपचार तथा रेखदेख ति कर्मचारीहरुबाट नै हुन्छ’, अध्यक्ष ओलीले भने, ‘राउटेहरुले गर्ने क्रियाकलापको नियमित निगरानी कर्मचारीहरुले गर्नेछन्। यसका साथै बालबालिकाहरुलाई पढाउने, सिकाउने र सन्देशमुलक भिडियोहरु देखाउने लगायतका क्रियाकलपसमेत गरिनेछ।’ यसरी विस्तारै राउटेहरुलाई विद्यालय पठाउने लक्ष्य रहेको उनले बताए।
अध्यक्ष ओलीका अनुसार राउटेलाई दिइने परिचयपत्र छपाइको काम भइसकेको छ। केही दिनमा नै नाम, थर र ठेगानासहितको परिचयपत्र वितरण गरिनेछ।
गाउँपालिकाको उक्त निर्णयबाट राउटे समुदाय पनि खुसी भएका छन्। राउटे मुखिया सुर्यनारायण शाहीले आफुहरुलाई भत्ता लिन ठाउँ–ठाउँ चहार्नुपर्ने समस्या समाधान हुने विश्वास व्यक्त गरे। उनले अब एकै ठाउँबाट भत्ता लिँदा छिटो र सहज हुने भएकोले ढिलासुस्तीका कारण आफ्ना जनता भोकै बस्नु नपर्ने बताए। ‘समयमा भत्ता पनि आउँदैनथ्यो’, राउटे मुखिया शाहीले भने, ‘भत्ताको लागि कहिले कसलाई भन्नुपथ्र्यो कहिले कसैलाई। अब भत्ता समयमै आउँछ भन्ने लागेको छ। समयमै भत्ता पाइयो भने मेरा जनता भोकै बस्नु पर्नेछैन।’
फिरन्ते जीवन बिताउने राउटेहरु पछिल्लो समय दैलेखको गुराँस गाउँपालिकामा बसोबास गर्दै आएका छन्। अहिले उनीहरुको बसोबास गुराँस गाउँपालिकाको वडा नम्बर ८ मा रहेको गर्चे खोलामा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।