टोकियो– जापानको पश्चिमी क्षेत्रका विभिन्न इलाकामा भएको अविरल वर्षाका कारण कम्तीमा ३० जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन्।
यद्यपि जापानको राष्ट्रिय टेलिभिजन प्रशारण एनएचकेले भने बाढीका कारण ४९ जनाको मत्यु भएको जनाएको छ। बाढी र पहिरोका कारण दर्जनौं व्यक्ति हराइरहेका छन्।
जापानी अधिकारीहरूले वर्षाका कारण जलमग्न बनेको र पहिरोको जोखिममा रहेका कतिपय स्थानबाट कम्तीमा १९ लाख व्यक्तिलाई बाढी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सर्न निर्देशन दिएको बताएका छन्। दशौँ लाख मानिसलाई सजग रहन भनिएको छ।
विपद्पछि खोज तथा उद्धार कार्यमा हजारौँ प्रहरी, अग्नि नियन्त्रक तथा सैनिकहरू खटिएका छन्। जापानको क्योदो समाचार संस्थाका अनुसार कैयौँ पीडितहरूको पहिरोमा पुरिएर ज्यान गएको छ।
जापानको राजधानी टाकियोदेखि ६ सय किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा शुक्रबार र शनिबार गरी ५ सय ८३ मिलिमिटर वर्षा भएको जापानी मौसम विज्ञान निकायले जनाएको छ। उक्त संस्थाले आउने दिनमा थप वर्षा हुने जनाएको छ।
हिरोशिमादेखि ३ सय किलोमिटर पूर्वमा पर्ने क्योटोमा पनि भारी वर्षा भएको छ।
रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।