टोकियो– अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको दुई दिने भ्रमणका क्रममा उत्तर कोरियाली समकक्षीसँग भएको वार्ता प्योङयाङलाई आणविक रूपमा निशस्त्र बनाउन ‘निकै लाभकारी’ भएको शनिबार बताएका छन्।
उत्तर कोरियाको भ्रमणपछि टोकियो प्रस्थान गर्नुपूर्व सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले कसरी उत्तर कोरियाले आणविक निशस्त्रीकरणबारे आफ्नो प्रतिबद्धतालाई सम्मान गर्नसक्छ भन्ने विषयमा आफूहरूले केही नयाँ विवरणहरू आदानप्रदान गरेको बताए।
उनले भने,‘यी पक्कै पनि जटिल विषयहरू हुन्, तर हामीले सबैखाले प्रमुख मुद्दामा प्रगति गरिसकेका छौँ। केही कुरामा निकै नै प्रगति भएको छ भने अन्यमा पनि सफलताका लागि थप कामहरू भइरहेका छन्।’
यसैबीच, दक्षिण कोरियाली समाचार संस्था योन्हापले बताए अनुसार उत्तर कोरियाले वासिङ्टनका ‘सर्वग्राही माग’ र ‘अति नै अफसोसजनक धारणा’को आलोचना गरेको छ। पोम्पेओसँगको वार्ता सकिएको केही घण्टामै उत्तर कोरियाबाट यस्तो धारणा आएको हो।
उत्तर कोरियाली विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिलाई उद्धृत गर्दै योन्हापले भनेको छ,‘उच्च स्तरीय वार्तामा अमेरिकी धारणा र अडान निकै अफसोसपूर्ण पाइयो।’ रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।