पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफ जेल सजाय भोग्न तयार

Nepal Live

इस्लामावाद– पकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफले आफू जेल सजाय भोग्न तयार रहेको बताएका छन्।

शरिफले पाकिस्तानी अदालतले शुक्रबार उनलाई दश वर्षको जेल सजायको फैसला गरेकाले त्यो सवै सामना गर्न आफू तयार रहेको बताएका हुन्।

‘देश र जनताको स्वतन्त्रताका लागि म जस्तो सुकै सङ्घर्ष गर्न तयार छु।,’ पूर्वप्रधानमन्त्री शरिफले भने। आफ्नी श्रीमतीको उपचारका लागि लण्डनमा रहेका शरिफ जेल सजाय भोग्न चाँडै स्वदेश फर्किने प्रष्ट पारेका छन्। तर कहिले स्वदेश फर्किने भन्ने बारेमा भने उनले खुलाएनन्।

श्रीमतीको स्वास्थ्यमा सुधार भएपछि आफु स्वदेश फर्किने उनको भनाइ छ। पूर्वप्रधानमन्त्री शरिफकी श्रीमती क्यान्सर रोगबाट पीडित छिन्।

इस्लामावादको अदालतले शरिफलाई दश वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि तोकेको छ। यही जुलाई २५ मा हुनलागेको निर्वाचनको पूर्वसन्ध्यामा भएको यो फैसला अर्थपूर्ण भएको वकीलहरूले बताएका छन्। 

नेता शरिफ गत वर्ष सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री पदबाट अपदस्त भएका थिए। भ्रष्टाचारको अभियोग लागेपछि अनुसन्धान गर्नुपर्ने भएकाले उनी प्रधानमन्त्रीको पदमा बसिरहन नमिल्ने आदेश अदालतले दिएपछि उनको बहिर्गमन भएको थियो। उनलाई आगामी दिनमा राजनीतिक गतिविधि गर्न पनि प्रतिवन्ध लगाइएको छ। 

शरिफ स्वयम् र उनका समर्थकले भने राजनीतिक प्रतिशोधका आधारमा गलत अभियोग लगाइएको दावी गर्दै आएका छन्। 

अदालतले शरिफसँगै उनकी छोरी मार्याम नवाजलाई पनि भ्रष्टाचार गरेकै अभियोगमा ७ वर्षको जेल सजाय तोकेको छ। त्यसैगरी मार्यामका श्रीमान् मोहम्मद सफडारलाई समेत सोही मुद्दामा एक वर्ष जेल सजायको हुनुपर्ने फैसला गरिएको छ।रासस/सिन्ह्वा

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार